गृहपृष्ठ स्रोत नखुलेका सबै सम्पत्ति राष्ट्रियकरण गर्ने पाकिस्तानको तयारी
स्रोत नखुलेका सबै सम्पत्ति राष्ट्रियकरण गर्ने पाकिस्तानको तयारी
आर्थिक संकटबाट पाकिस्तानलाई निकाल्न पाकिस्तानी प्रधामन्त्री इमरान खानले पाकिस्तानको ऋण घटाउन सशक्त कदम चालेका छन् । उनले पाकिस्तानी नागरिकसँग रहेका गैरकानुनी सम्पत्तिलाई जफत गरी राष्ट्रियकरण गर्ने निर्णय गरेका छन् । प्रधामन्त्रीले प्रेस विज्ञप्ति जारी गर्दै स्रोत नखुलेका सबै सम्पत्ति सार्वजनिक गर्न नौ दिनको अल्टिमेटम दिएका छन् । उनले सबै नागरिकलाई आफूले चालेको कदममा साथ दिई मुलुकको ऋण तथा मुलुकमा व्याप्त गरिबी हटाउन सहयोग गर्न आग्रह गरेका हुन् ।
अहिले पाकिस्तान आर्थिक संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । पाकिस्तानको ऋण मात्रै ३० हजार अर्ब डलर बराबर छ । आयस्रोत न्यून हुँदा पाकिस्तान पछिल्लो १० वर्षदेखि निरन्तर घाटामा छ । यसैलाई मध्यनजर गर्दै प्रधानमन्त्री इमरानले राजस्व बढाउने उपाय निकाल्दै छन् । उनी भन्छन्, ‘हामी सबै मिलेर देशप्रति निष्ठापूर्वक रहेर काम गर्ने हो भने वर्षको १० हजार अर्ब डलर बचत गर्न सक्छौँ ।’ पाकिस्तान संसारको सबैभन्दा कम राजस्व उठाउने देशका रूपमा पनि परिचित छ । पछिल्ला केही दशकमा पाकिस्तान विद्रोही लडाकु तथा जातीय द्वन्द्वका कारण देशको आर्थिक अवस्था कमजोर बन्यो ।
इमरानले प्रधानमन्त्री पद सम्हालेसँगै पाकिस्तानमा पुनः शान्ति आउने र मुलुकको आर्थिक अवस्था पुनः उठ्ने आशा पलाएको छ । खान यतिबेला आन्तरिक तथा वैदेशिक ऋण न्यूनीकरणका निम्ति खरो रुपमा उत्रिएका हुन् । उनले जनताको नाममा सम्बोधन गर्ने क्रममा ढाँटेर र छलेर कुनै काम गरेको पाइएमा कडा सजाय हुने चेतावनी दिए ।
विदेशमा रहेका पाकिस्तानी नागिरकको सम्पत्तिबारे आफूलाई यकिन तथ्यांक उपलब्ध भएका बताउँदै उनले सो सम्पत्ति सार्वजनिक गर्न निर्देशन दिएका हुन् । उनले विदेशका बैंकका एकाउन्टमा मात्रै नभएर मुलुकभित्रै रहेका स्रोत नखुलेका सम्पत्तिको विवरण पनि आफूसँग रहेको बताउँदै सार्वजनिक गर्न आग्रह गरेका हुन् । यसरी सार्वजिनक गर्दा प्राप्त अवैधानिक सम्पत्तिलाई राष्ट्रियकरण गर्दै मुलुकको विकासमा लगाउने खानको उद्देश्य छ ।
पछिल्लो केही वर्षयता पाकिस्तानको ऋण ह्वात्तै बढेको देखिन्छ । १० वर्ष अगाडि ६ हजार अर्ब सीमित ऋण छोटो समयमा नै ३ गुणाले बढेको छ । पाकिस्तानले मंगलबार तीन ट्रिलियन रुपैयाँको घाटाको बजेट पेस गर्दै छ जबकि पछिल्लो बजेट १.८ ट्रिलियन रुपैयाँको थियो । प्रधानमन्त्री खान यत्तिखेर मुलुकलाई समृद्धिको बाटोतिर लम्काउन दिनरात खटिरहेका छन् ।
प्रकाशित समय १३:३३ बजे

















