गृहपृष्ठ मोरङमा सवारी दुर्घटनाबाट १० महिनामा ७८ जनाको मृत्यु, ७३३ घाइते
मोरङमा सवारी दुर्घटनाबाट १० महिनामा ७८ जनाको मृत्यु, ७३३ घाइते
चालू आर्थिक वर्षको १० महिनामा मोरङमा सवारी दुर्घटनाबाट ७८ जनाले ज्यान गुमाएका छन् । चालू वर्षको साउनदेखि वैशाखभित्रमा मात्र विभिन्न सवारीका ५ सय ९३ साधन दुर्घटना हुँदा ७८ जनाको ज्यान गएको हो ।
जिल्ला ट्राफिक कार्यालय मोरङको तथ्यांकअनुसार सो आवधीमा ५२ वटा ट्रक, ५२ सार्वजनिक बस, जिप तथा कार ७०, ट्याक्टर ३१, टेम्पु ३६, मोटरसाइकल ३ सय ८, शारीरिक शक्तिबाट चल्ने ४२ र अन्य २ वटा सवारीका साधन दुर्घटना हुँदा ७८ जनाको मृत्यु, २ सय १२ जना गम्भीर घाइते र ५ सय २१ जना सामान्य घाइते भएका हुन् ।
सबैभन्दा बढी मोटरसाइकल दुर्घटना
चालू आर्थिक वर्षको साउनमा मात्र ५८ वटा सवारी दुर्घटना भएकोमा ८ जनाको मृत्यु भएको छ भने २८ जना गम्भीर र ६७ जना सामान्य घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालय मोरङको तथ्यांकअनुसार भदौमा ६५ वटा सवारी साधन दुर्घटना भएकोमा ६ जनाको मृत्यु, २७ जना गम्भीर घाइते र ५५ जना सामान्य घाइते भएका छन् ।
त्यसैगरी, असोजमा ५२ वटा सवारी दुर्घटना भएकोमा ८ जनाको मृत्यु, २० जना गम्भीर घाइते र ३७ जना सामान्य घाइते भएका छन् । कात्तिकमा ६० वटा सावारी साधन दुर्घटना हुँदा ९ जनाको मृत्यु, २२ जना गम्भीर घाइते र ७५ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ ।
कार्यालयका अनुसार चालू आर्थिक वर्षकै मंसिरमा ७४ वटा सवारी साधन दुर्घटना भएका छन् । उक्त सवारी दुर्घटनामा १० जनाको ज्यान गएको छ भने २० जना गम्भीर घाइते र ७५ जना सामान्य घाइते भएका छन् ।
त्यस्तै, पुसमा ५२ वटा सवारी साधन दुर्घटना हुँदा ७ जनाको मृत्यु, १३ जना गम्भीर र २८ जना सामान्य घाइते भएका छन् । माघमा ५७ वटा सवारी साधन दुर्घटना भएकोमा ७ जनाको मृत्यु, १२ जना शक्त घाइते र ३६ जना सामान्य घाइते भएका छन् ।
त्यसैगरी, फागुनमा ४७ वटा सवारीका साधन दुर्घटना भएका छन् । उक्त दुर्घटनामा ७ जनाको मृत्यु, १९ जना गम्भीर घाइते र ४६ जना सामान्य घाइते भएको तथ्यांकमा उल्लेख छ ।
चालू आर्थिक वर्षको चैतमा ६३ वटा सवारी दुर्घटनामा ७ जनाको मृत्यु, ३५ जना गम्भीर घाइते र ५७ जना सामान्य घाइते भएको जनाइएको छ । वैशाखमा मात्र ६५ वटा दुर्घटना भएका छन्, जसमा १० जनाको ज्यान गएको छ भने १६ जना गम्भीर घाइते र ४५ जना सामान्य घाइते भएको तथ्यांकमा उल्लेख छ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा भएका ५ सय ९३ सवारी दुर्घटनामा सबैभन्दा बढी ३ सय ८ वटा मोटरसाइकल परेका छन् ।
सवारी दुर्घटना न्यूनीकरण गर्न लागेका छौँ : प्रहरी
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक शिवकुमार पोखरेलले जिल्लाम सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि विभिन्न गतिविधि सञ्चालन गरिएको जनाकारी दिए । उनले दुर्घटना न्यूनीकरण गर्न होडिङ बोर्डहरु ठाउँ–ठाउँमा राखिएको, जेब्रा क्रसिङ निर्माण, चेक जाँचमा तिब्रता, चालक तथा सहचालकलाई प्रशिक्षण, मापसे जाँच, चेतनामूलकलगायतका कार्यक्रम सञ्चालन गरिएको बताए । उनले भने, ‘जबसम्म आफैं सचेत भएर सवारी साधन चलाइँदैन, तबसम्म दुर्घटना कम हुन गाह्रो छ । हामीले आफ्नो तर्फबाट गर्ने काम गरिरहेकै छौँ ।’
प्रकाशित समय १३:३६ बजे

















