गृहपृष्ठ चिनियाँ राष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीच जापानमा भेटवार्ता
चिनियाँ राष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीच जापानमा भेटवार्ता
फाइल तस्बिर।
चिनियाँ राष्ट्रपति सि चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जापानमा शनिबार भेटवार्ता भएको छ । दुई पक्षीय सम्वन्ध र सहकार्यलाई नयाँ उचाइमा पु-याउन यो भेटवार्ता फलदायी हुने दुवै पक्षको विश्वास थियो ।
पूर्वनिर्धारित समयतालिका अनुसार नै भएको सो भेटवार्ता जापानमा भइरहेको जि २० शिखर सम्मेलनको बेलामा भएको हो । ‘[सहकार्य र एक आपसको मिलनले चीन र अमेरिका दुवैलाई फाईदा भएको छ, यसलाई अझ राम्रो बनाउदै लैजाने बारेमा छलफल भएको छ,’ बैठकपछि चिनियाँ राष्ट्रपति सीले भने ।
उनले दुई देशको सम्वन्ध बलियो बनाउनेबाहेक अन्य विषयमा खासै छलफल नभएको पनि जानकारी दिए । बीसवटा औद्योगिक राष्ट्रको समूह (जि-२०)को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका सहरमा सुरु भएको छ । सम्मेलनको शुक्रबार बिहान ओसाका सहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रुपमा उद्घाटन गरेका छन् ।
सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ बिहीबार जापानको ओसाका सहर पुगेका थिए । सम्मेलनमा सहभागिताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि ओसाकामा छन् ।
समसामयिक विश्वका विषयहरु जस्तै जलवायु परिवर्तन, बुढ्यौली जनसंख्याको व्यवस्थापनलगायतका विषयमा पनि सम्मेलनमा छलफल हुने कार्यसूची छ । विश्वका शक्ति सम्पन्न र औद्योगिक राष्ट्रहरु नै यस समूहका सदस्य रहेकोले जि-२० को यस सम्मेलनमा व्यापारका अतिरिक्त उत्तर कोरियाको विषयले पनि स्थान पाउने अनुमान गरिएको छ ।
त्यस्तै इरान र भेनेजुएलाका विषयमा पनि यस सम्मेलनको प्रमुख कार्यसूचीमा रहेका बताइएको छ । सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रपति ट्रम्पले चीनमाथि थप करवृद्धि गर्ने प्रतिक्रिया दिएका थिए । अमेरिका र चीन विश्वका दुई ठूला अर्थतन्त्र हुन् । यी दुई देशबीच जारी व्यापार युद्धले विश्वका अरु देशहरुलाई पनि असर पारिरहेको बताइन्छ ।
त्यसैले जि-२० को यसपटकको शिखर बैठकको मुख्य कार्यसूची पनि यही नै रहने अनुमान गरिएको छ । जि-२० को शिखर सम्मेलनमा सहभागी नेताहरुले आ–आफ्ना देशबाट पनि यी विषयमा चासोहरु व्यक्त गरिरहेका छन् । यो समूहमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र संयुक्त राज्य अमेरिका छन् ।
प्रकाशित समय १४:१८ बजे

















