गृहपृष्ठ ट्रम्प भन्छन्- क्रिप्टोकरेन्सी मुद्रा नै होइन
ट्रम्प भन्छन्- क्रिप्टोकरेन्सी मुद्रा नै होइन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेसीमा आफूलाई विश्वास नरहेको बताएका छन् । क्रिप्टोकरेन्सी मुद्रा होइन भन्दै उनले यसको व्यापार गर्न चाहनेहरु बैंकिङ नियमनको दायरामा आउनुपर्छ भने ।
राष्ट्रपति ट्रम्पले बिहीबार ट्वीट गर्दै भनेका छन्, ‘मलाई बिट्क्वाइन र अरु किसिमका क्रिप्टोकरेन्सीमा बिल्कुलै विश्वास छैन । यो मुद्रा होइन ।’
विद्युतीय प्रकृतिको भएकाले लगभग पत्ता लगाउन नसकिने यस्ता क्रिप्टोकरेन्सीले अवैध कृयाकलापलाई प्रश्रय दिन सक्ने पनि उनले बताए ।
क्रिप्टोकरेन्सी विश्वका केन्द्रीय वा बैंकिङ प्रणालीमा आबद्ध नभई इन्टरनेटमार्फत एकापसमा गरिने डिजिटल कारोबार हो ।
सन् २००९ मा बिट्क्वाइन प्रारम्भ भएपछि क्रिप्टोकरेन्सी विश्वभर तीव्र गतिमा फैलिएको छ । फेसबुकले पनि गत महिना आफ्नै लिब्रा नामको क्रिप्टो मुद्रा प्रचलनमा ल्याउने घोषणा गरेपछि यसले विश्वका बैंकिङ नियामकहरुमाझ अझ चर्चा पाएको छ ।
करिब दुई अर्ब प्रयोगकर्ता भएको फेसबुकले सन् २०२० मा लिब्रालाई अरु साझेदारसमेतको सहकार्यमा प्रचलनमा ल्याउने घोषणा गरेको छ । यसले विश्वको वित्तीय कारोबारलाई नै प्रभावित तुल्याउने अनुमान गरिएको छ ।
राष्ट्रपति ट्रम्पले फेसबुक र अरु कम्पनीले क्रिप्टोकरेन्सी प्रारम्भ गर्दा अमेरिकी र अन्तर्राष्ट्रिय बैंकिङ नियमन प्रणाली दुवैलाई स्वीकार गर्नुपर्ने चेतावनी दिए । “संयुक्तराज्य अमेरिकामा एउटा मात्र वास्तविक मुद्रा (अमेरिकी डलर) छ र यो विगतको भन्दा बढी मजबुत छ ।”
विश्वका प्रमुख औद्योगिक मुलुकहरुको समूह जी–७ का अर्थ मन्त्रीहरुको फ्रान्समा बस्न लागेको बैठकमा क्रिप्टोकरेन्सीबारे पनि छलफल हुने तयारी हुँदै छ ।
कतिपय अमेरिकी नेताहरुले फेसबुकको लिब्रा परियोजनालाई पूर्ण रुपमा बन्देज लगाउनुपर्ने मागसमेत गर्न थालेका छन् ।
फेसबुकले मानिसका दैनिक जीवनका आवश्यकता पूरा गर्न लिब्रा सार्वजनिक गर्न चाहेको जनाएको छ । विकासशील मुलुकहरुमा भने लिब्रालाई बैंकिङ, क्रेडिट कार्ड र ई–कमर्सका रुपमा पनि प्रयोग गर्ने फेसबुकको तयारी छ ।(एजेन्सी)
प्रकाशित समय १२:२६ बजे

















