गृहपृष्ठ अवैध रूपमा बसेका बंगलादेशी पहिचान गर्दै युपी प्रहरी
अवैध रूपमा बसेका बंगलादेशी पहिचान गर्दै युपी प्रहरी
उत्तर प्रदेशमा रहेका बंगलादेशी र अरू विदेशी नागरिकहरूको पहिचान गर्न युपी प्रहरीलाई आदेश गरिएको छ । विदेशी नागरिकहरू पहिचान गरेर प्रत्यर्पण गर्ने प्रदेश सरकारको योजना छ । उत्तर प्रदेशका प्रहरी महानिर्देशक ओपी सिंहले जिल्ला प्रहरीका अधिकारीहरूलाई चिठी नै लेखेर यो कार्य आन्तरिक सुरक्षाका लागि आवश्यक भएको बताएका छन् ।
समाचार एजेन्सीहरूलाई प्रहरी महानिर्देशकले यो कार्य एनआरसी (राष्ट्रिय नागरिकता रजिस्टर) सँग सम्बन्धित नरहेको बताएका छन् । युपीमा गैरकानुनी रूपमा रहेका बंगलादेशी र अन्य विदेशी नागरिकको पहिचान गरेर उनीहरूका कागजातहरू परीक्षण गरी वैधानिक कागजात नभएकाहरूलाई प्रत्यार्पण गरिने उनले बताए ।
बिबिसीका अनुसार युपीमा योगी सरकार आएपछि समय-समयमा विदेशी घुसपैठको मुद्दा उठिरहेको छ । युपीमा एनआरसी लागू गर्ने स्पष्ट खाका भने अझै बनिनसकेको बताइन्छ । युपी सरकारमाथि यौन उत्पीडनको आरोपमा पूर्व केन्द्रीय मन्त्री स्वामी चिन्मयानन्द माथि कारबाही हुनुपर्ने दबाब बढेको समयमा बीजेपीको विदेशी नागरिकहरूसम्बन्धी चुनावी मुद्दा पुनः उठाइएको छ ।
उपचुनाव र अन्य राज्यहरूमा चुनाव हुनुपूर्व बिजेपीले आफ्नो राजनीतिक धरातल दह्रो बनाउन थालेको वरिष्ठ पत्रकार शरद गुप्ताले बताएका छन् । प्रहरीका तर्फबाट आदेश जारी गरिए पनि गुप्ता भने चुनावी महौलका लागि यो कदम उठाइए दाबी गर्छन् ।
युपी डिजिपीले यसको एनआरसीसँग कुनै सरोकार नरहेको बताए पनि शरद गुप्ता यसमार्फत उन्माद ल्याउन खोजेको बताउँछन् । युपी प्रहरी भिसा सकिपछि अवैध रूपमा बसेर गैरकानुनी गतिविधिमा लाग्नेहरूबाट समस्या भएको बताउँछ ।
प्रकाश सिंहका अनुसार भिसा सकिएर पनि स्वदेश नफर्कने पाकिस्तानी नागरिक पनि छन् । यो युपीको मात्र नभएर एक राष्ट्रियस्तरको समस्या भएको उनी बताउँछन् । प्रकाश सिंह अवैध बंगलादेशी नागरिकहरूलाई प्रत्यर्पित गर्न केन्दीयस्तरको प्रयासले मात्र सम्भव हुने बताउँछन् । प्रहरीले समय-समयमा बंगलादेशी नागरिकहरूको पहिचान गर्ने कार्य गर्दै आएको छ ।
प्रकाशित समय १५:३२ बजे

















