गृहपृष्ठ साइबेरियाली सुन खानी भत्किँदा १५ को मृत्यु, १३ जनाभन्दा बढी बेपत्ता
साइबेरियाली सुन खानी भत्किँदा १५ को मृत्यु, १३ जनाभन्दा बढी बेपत्ता
रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् । घटनामा कम्तीमा १३ जना पुरिएर वेपत्ता भएका बताइएको छ ।
गैरकानुनी रूपमा सुन निकाल्न साइबा नदीमा बनाइएको गैरकानुनी बाँध भत्किँदा क्रास्नोभार्स्कोस्थित खानीमा काम गर्ने श्रमिकको मृत्यु भएको रूसले जनाएको छ । खानीमा काम गर्ने श्रमिक सुतिरहेको समय बाँध फुटेर आएको हिलोसहितको पानीले उनीहरूलाई बगाएको रूसी सञ्चारमाध्यमहरूले बताएका छन् ।
घटनापछि करिब ३०० उद्धारकर्मी र ६ हेलिकप्टर खानीमा पुगेका र बेपत्ताहरूको खोजी भइरहेको रूसी विपद् व्यवस्थापन मामिला हेर्ने मन्त्रालयले जानकारी गराएको छ । तर घटनास्थल निकै दूरदराजमा रहेकोले उद्धार प्रयास निकै कठिन भएको अधिकारीहरूले बताएका छन् ।
घटनामा परी घाइते बनेका १४ जनालाई अस्पताल पठाइएको र तीमध्ये दुईजनाको अवस्था निकै गम्भीर रहेको बताइएको छ । रूसका हिमाली तथा पहाडी क्षेत्रमा गैरकानुनी रूपमा सञ्चालनमा रहेका खानीहरूमा आवश्यक सुरक्षामा ध्यान नपु–याइँदा बर्सेनि सयौँ श्रमिकको अकालमा ज्यान जाने गरेको छ ।
प्रकाशित समय ०९:०५ बजे

















