गृहपृष्ठ साउदी अरबकी युवती रिमा कार रेसिङमा प्रतिस्पर्धी
साउदी अरबकी युवती रिमा कार रेसिङमा प्रतिस्पर्धी
साउदी अरबमा पहिलो पटक युवती कार रेसिङमा भाग लिँदै छन् । रिमा जुफाली दिरियामा हुने जगुआर वन-पेस ई-ट्रफी रेसमा भाग लिँदै छन् । साउदीमा गत वर्ष महिलाहरूलाई कार चलाउने अनुमति दिइएको थियो । यसको केही महिनापछि नै रिमाले कार रेसिङमा सहभागिता जनाउन थालिन् । दैनिक भास्करका अनुसार जेद्दामा जन्मेकी रिमाको शिक्षादीक्षा भने अमेरिकामा भएको थियो ।
रिमाले केही वर्षअघि अमेरिकामै ड्राइभिङ टेस्ट पूरा गरेकी थिइन् । उनी साउदीमा रेसिङ लाइसेन्स प्राप्त अघिल्लो पंक्तिकै महिला पनि हुन् । उनलाई आयोजकहरूले ‘भिआइपी’ गेस्टका रूपमा रेसिङमा समावेश गरेका हुन् । उनले गत वर्ष अप्रिलमा पेसेवर रेसरका रूपमा पहिलो पटक ब्रिटिस च्याम्पियनसिपमा भाग लिएकी थिइन् । ‘गत वर्ष मात्र महिलालाई कार चलाउने अनुमति दिइएकाले मलाई यति चाँडो प्रोफेसनल रेसिङ गर्ने विश्वास लागेको थिएन,’ रिमाले भनिन्, ‘मेरो योजना फ्रान्समा आयोजना हुने एकदिने रेसमा सहभागी हुनु छ ।’
अधिराजकुमार मोहम्मद-बिन-सलमानको उदारवादी नीतिका कारण साउदी अरबमा महिलालाई कार चलाउने अनुमति दिइएको हो । अब यसको असर देखिँदै छ । साउदी खेल प्राधिकरणका प्रमुख युवराज अब्दुल अजिज बिन तुर्की अल-फैसलले यसलाई देशकै एक ऐतिहासिक क्षण बताए । एक पेसेवर रेसिङ चालकका रूपमा रिमाको हौसला बढाउन हजारौं मानिस जम्मा हुने उनले बताए ।
प्रकाशित समय १५:२५ बजे

















