गृहपृष्ठ दिक्तेलमा सहरी खानेपानी आयोजनाको काममा तीव्रता
दिक्तेलमा सहरी खानेपानी आयोजनाको काममा तीव्रता
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारलगायत आसपासका क्षेत्रमा विस्तार गर्न लागिएको सहरी खानेपानी तथा सरसफाइ आयोजनाको कामलाई तीव्रता दिइएको छ । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत लगानी रहने आयोजनाबाट दिक्तेल, सोल्मा र बाम्राङका १ हजार ४९ घर स्थानीयवासीलाई प्रशोधन गरिएको स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ आयोजनाको काम सुरु गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको माथिल्लो भेगमा मुहान रहेको रम्बाखोला-माझखोलाको पानी तानेर वितरण गरिने आयोजनामा अहिले ट्यांकी निर्माण, पाइपलाइन विस्तार, पानी प्रशोधन गर्ने प्रशोधन केन्द्र निर्माणलगायत काम धमाधम भइरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताए । अध्यक्ष जोशीका अनुसार १८ महिनाभित्र पूरा गर्ने लक्ष्यका साथ गत चैत १४ गते प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले औपचारिक रूपमा शिलान्यास गरेको उक्त आयोजनाका लागि सोल्मास्थित तीनबोटे र दिक्तेलस्थित अल्छेढुंगामा पानी प्रशोधन केन्द्र निर्माणको काम भइरहेको छ ।
दिक्तेल बहुमुखी क्याम्पसभन्दा केही माथि थामखोरेडाँडामा १७५ घनलिटर र हाटडाँडामा ५० हजार घनलिटर पानी संकलन गर्ने ट्यांकी निर्माणको काम भइरहेको जनाइएको छ । योसँगै १८ किलोमिटर टाढा रहेको रम्बाखोला-माझखोलाको मुहानबाट पानी ल्याइने मुख्य पाइपलाइनको काम पनि धमाधम भइरहेको छ ।
निर्धारित समयमै आयोजनाको काम पूरा गर्ने गरी पहिलो चरणमा दिक्तेल बजारको त्रिवेणीचोकदेखि भवन गैरासम्म पाइपलाइन विस्तार गर्ने कामलाई तीव्रता दिइएको आयोजनाका परामर्शदाता एवं पिइए-बिएन जेभीका इन्जिनियर भोलाप्रसाद चौधरीले जानकारी दिए । गत कात्तिक दोस्रो साताबाट सुरु गरिएको आयोजनाको काम आशिष निर्माण सेवाले गराइरहेको छ ।
लामो समयदेखि खानेपानीको समस्या झेलिरहेका बजारबासी २२ करोड ५५ लाख ५८ हजार रुपैयाँ लागतमा पूरा हुने खानेपानी आयोजनाको काम सुरु भएपछि हर्षित भएका छन् । नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजारमा हिउँद, वर्षा बाह्रै महिना खानेपानीको समस्या देखिएपछि उक्त आयोजनाको काम सुरु गरिएको हो ।
दिक्तेल बजारमा विस्तार गरिएको पुरानो खानेपानी योजनाको धारामा कहिले पानी नै नआउने, आइहाले पनि फोहर तथा दूषित पानी आउनेलगायत विभिन्न प्रकारका समस्या वर्षौंदेखि रहेको उपभोक्ताको गुनासो छ । उपभोक्ता समितिका केही पदाधिकारीले आफ्ना नजिकका व्यक्तिको घरमा तीन–चारवटासम्म धारा जडान गरेको र उनीहरूका धारामा चौबिसै घण्टा पानी आउने बनाएकाले आफूहरूलाई थप समस्या भएको उपभोक्ताले आरोप लगाउँदै आएका छन् ।
दिक्तेल बजारमा देखिएको खानेपानीको समस्या समाधान गर्न नगरपालिकाका तर्फबाट विशेष पहल भइरहेको नगरप्रमुख दीपनारायण रिजालले बताए । ‘खानेपानी विस्तारका लागि भर्खरै मात्र ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम सुरु गरिएको छ,’ उनले भने, ‘आगामी डेढ वर्षभित्र दिक्तेल बजारमा देखिएको खानेपानीसम्बन्धी सबै समस्या समाधान गरेर स्वच्छ पानी वितरण गरिनेछ ।’
दिक्तेल बजारमा सञ्चालित पुरानो योजनाबाट करिब ८ सय धारा वितरण गरिएको छ । पुरानो योजनाको धारामा पानी नआएपछि बजारवासी आसपासको गाउँमा पुगेर धारा तथा कुवाको पानी ल्याएर उपभोग गर्न बाध्य छन् । (रासस)
प्रकाशित समय १५:४१ बजे
















