गृहपृष्ठ पुनः अमेरिका-तालिबान वार्ता सुरु

पुनः अमेरिका-तालिबान वार्ता सुरु

दोहा । संयुक्त राज्य अमेरिका र अफगानिस्तानको विद्रोही समूह तालिबानबीच कतारको राजधानी दोहामा शुक्रबारदेखि पुनः वार्ता सुरु भएको छ ।

टोलो न्यूजले एक स्रोतलाई उद्धृत गर्दै दोहामा वार्ता सुरु भएको बताएको छ । स्रोतले अफगानिस्तानमा जारी हिंसा न्यूनीकरण गर्ने तथा युद्धविरामको वातावरण तयार गर्नेतर्फ वार्ता केन्द्रित भएको जनाएको छ ।

हालैमात्र, अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले काबुलको दुई दिने भ्रमण गरेका थिए । त्यस भ्रमणका क्रममा उनले अफगान अधिकारीहरु र प्रमुख राजनीतिक नेताहरुसँग भेटघाट र विचार विमर्श गरेका थिए । उनले पूर्व राष्ट्रपति हमिद कारजाईसँग समेत भेट गरेका थिए ।

अमेरिका र तालिबानबीच दोहामा यसअघि नौ चरणमा वार्ता भएका थिए र एउटा सम्झौतामा हस्ताक्षर हुने क्रममा एकाएक वार्ता रद्द गरिएको थियो ।

काबुलमा तालिबान समूहले गरेको आत्मघाती आक्रमणमा एक अमेरिकी सैनिक समेत केही विदेशी र अफगानीहरुको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच जारी वार्ता रद्द भएको घोषणा गरेका थिए । (एजेन्सी)

प्रकाशित समय ०७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु