गृहपृष्ठ पत्रकारको फोन खोसेर बेलायती प्रधानमन्त्री पुनः विवादमा
पत्रकारको फोन खोसेर बेलायती प्रधानमन्त्री पुनः विवादमा
बेलायती प्रधानमन्त्री बोरिस जोनसन एक पटक फेरि विवादमा परेका छन् । बोरिसको विवादहरूसँग पुरानै नाता रहेको छ । यस पटक उनले एक पत्रकारको फोन खोसेर आफ्नो खल्तीमा राखे । यो घटनापछि बेलायती प्रधानमन्त्रीको खुब आलोचना हुँदै छ ।
खासमा युनाइटेड किङडममा १२ डिसेम्बरमा हुन लागेको आम निर्वाचनअघि जोनसनलाई बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) प्रणालीबारे बताइँदै थियो । त्यही समयमा उनीसँगै रहेका पत्रकार पाइकले उनलाई बेलायतका अस्पतालहरूको अवस्था देखाउन आफ्नो फोनमै खिचिएको एउटा बिरामी बालक उपचारका लागि अस्पतालको भुइँमै पल्टिएको फोटो देखाए । यसको प्रत्युत्तर दिनुको सट्टा जोनसनले फोन नै खोसेर आफ्नो खल्तीमा राखे ।
त्यसपछि ती पत्रकारले यस घटनाको भिडियो ट्विटरमा सेयर गर्दै लेखे, ‘प्रधानमन्त्री जोनसनलाई बिरामी ज्याक विलिमेन्ट बार नामक बालकको फोटो देखाउँदै थिएँ । निमोनियाबाट पीडित चारवर्षे यी बालक उपचारका लागि लिड्स अस्पतालको भुइँमा पल्टन विवश थिए । मैले उक्त तस्बिर दिखाएँ, प्रधानमन्त्रीले मेरो फोन खोसेर आफैंले राखे ।’
सामाजिक सञ्जालमा सेयर गरेको केही घण्टाभित्रै यो भिडियो १० लाख मानिसले हेरे । सामाजिक सञ्जालमा जोनसनको जमेर आलोचना गरिँदै छ । आलोचकहरूमा लेबर पार्टीका जेरेमी कार्बेन पनि समावेश भएका छन् । उनले यसअघि एनएचएसको संकटलाई लिएर प्रधानमन्त्रीलाई भनेका थिए, ‘यस संकटका कारण बिरामीहरूले सास्ती पाएका छन् ।’ कार्बेनले ट्वीटरमा प्रधानमन्त्रीलाई यसबारे के मतलव भनेका थिए ।
भिडियोमा बेलायती प्रधानमन्त्रीले फोटो हेर्न अनिच्छा व्यक्त गरेको देखिन्छ । बिबिसीका अनुसार प्रधानमन्त्री जोनसनले पीडित परिवारप्रति संवेदना व्यक्त गरेका छन् । पाइकलाई फोन लिन बोलाएर प्रधानमन्त्रीले स्क्रिनको तल हेर्दै भने, ‘यो दर्दनाक तस्बिर हो, म उक्त परिवार र एनएचएसमा दर्दनाक समय बिताउनुपरेका सबैसँग माफी माग्छु ।’
प्रकाशित समय १३:२४ बजे

















