गृहपृष्ठ इरानी राष्ट्रपति दुई दशकपछि जापान भ्रमणमा

इरानी राष्ट्रपति दुई दशकपछि जापान भ्रमणमा

अमेरिकासँग कूटनीतिक विवाद जारी नै रहेका बेला इरानी राष्ट्रपति हसन रउहानी जापान पुगेका छन् । राष्ट्रपति रउहानी शुक्रबार जापानको राजधानी टोकियो पुगेका हुन् ।

भ्रमणका बारेमा जापानी मिडियाले राष्ट्रपति रउहानी दुई दशकपछि जापान आउने पहिलो इरानी राष्ट्रपति भएको बताएका छन् । संयुक्त राज्य अमेरिका र इरानबीच आणविक विषयलाई लिएर ठूलो विवाद भइरहेको छ ।

विवादका बीच उनी जापान भ्रमणमा गएको अमेरिकी सञ्चारमाध्यमले पनि लेखेका छन् । राष्ट्रपति रउहानी र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच शुक्रबार साँझ जापानी प्रधानमन्त्री आबेको कार्यालयमा द्विपक्षीय औपचारिक वार्ता भएको छ ।

शुक्रबार टोकियो पुगेपछि उनको सम्मानमा ‘गार्ड अफ अनर’ दिइएको थियो । त्यसपछि उनीहरुबीच शुक्रबार साँझ नै औपचारिक वार्ता र रात्रिभोज भएको समाचारमा उल्लेख छ । तर, द्विपक्षीय वार्तामा के विषयमा कुराकानी भयो भन्ने बारेमा खुलाइएको छैन ।

केही समययतादेखि अमेरिकाले इरानमाथि आणविक कार्यक्रमको विषयलाई लिएर आर्थिक नाकाबन्दी नै लगाएको छ । अमेरिकाको यो नाकाबन्दीले इरानको समग्र अर्थतन्त्रमा नै ठूलो असर पारेको इरानका आर्थिक क्षेत्रका जानकारहरु बताउँछन् ।

इरान सरकारका प्रवक्ता अलि राबेइले अमेरिकासँग जारी विवादास्पद मुद्दाका विषयमा भ्रमण कुनै पनि किसिमले सम्बन्धित नभएको बताएका छन् । (एजेन्सी)

प्रकाशित समय १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु