गृहपृष्ठ चीनमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८० पुग्यो

चीनमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८० पुग्यो

चीनमा कोरोनोभाइरसको संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या ८० पुगेको अधिकारीहरूले बताएका छन् । अहिलेसम्म झन्डै ३ हजार जनामा उक्त भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार हुबे प्रान्तमा ३०० सय जनाभन्दा धेरै मानिस सो भाइरसका कारण गम्भीर न्युमोनियाको सिकार भएका छन् । अधिकारीहरूले उक्त प्रान्तमा ७६ जनाको मृत्यु भएको सोमवार बताएका छन् । मृत्यु हुने अन्य चार व्यक्ति अरू स्थानका हुन् ।

संक्रमणको केन्द्रमा रहेको उक्त प्रान्तको वुहानमा २ हजार शय्याका दुईवटा अस्पतालको निर्माण हुँदैछ । स्वास्थ्यसेवाका पाँच लाख कर्मचारीलाई उक्त भाइरसको रोकथाम, नियन्त्रण र उपचार गर्न परिचालित छन् । थप मास्क तथा सुरक्षित पोसाक बनाउन कारखानाहरूमा तीव्र गतिमा काम भइरहेको छ ।

बिदा लम्ब्याइयो

सरकारले कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न नयाँ वर्षको बिदा लम्ब्याउने घोषणा गरेको छ । ज्यानुअरी ३० सम्म रहेको चिनियाँ नयाँ वर्षको बिदा अब फेब्रुअरीको दोस्रो सातासम्म लम्ब्याइएको छ । यसअघि अधिकारीहरूले संक्रमण पहिलेभन्दा चाँडो फैलिरहेको चेतावनी दिएका थिए ।

लक्षण देखिनुअघि नै मानिसले यो संक्रमण अरू मानिसमा सार्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न थप कठिन हुने बताइएको छ । बीबीसी संवाददाता रुपर्ट विङ्फिल्ड हेयज भन्छन्, ‘यो कोरोनाभाइरस मानिसबाट मानिसमा सजिलै सर्ने देखिन्छ । जसले गर्दा यो चीनभरि र अन्यत्र अझ फैलने सम्भावना छ ।’

तर उनका अनुसार उक्त भाइरसको संक्रमण हुँदा ज्यान जाने संख्या कम भएको देखिन्छ । संक्रमित व्यक्तिमध्ये २ देखि ३ प्रतिशतको मात्र ज्यान गएको बताइएको छ । कोरोनाभाइरसको संक्रमणबारे कुराकानी गर्न विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसस बेइजिङ जाँदैछन् ।

चीनका राष्ट्रपति सी जिन्पिङले घातक कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन् । चिनियाँ नयाँ वर्षका दिन बिदाको बेलामा आयोजित एउटा उच्चस्तरीय बैठकपछि उनले वरिष्ठ चिनियाँ अधिकारीहरूलाई देश ‘गम्भीर परिस्थिति’ मा रहेको बताएका थिए ।

कोरोना भाइरस के हो ?

कोरोनाभाइरस रुघाखोकी लगाउने भाइरसहरूको परिवारको एउटा सदस्य हो । तर अहिले फैलिएको यो भाइरस पहिला देखिएको थिएन। त्यसैले यो नयाँ भाइरसलाई द्दण्ज्ञढ(लऋयख नामकरण गरिएको छ । अन्य पशुपक्षीबाट सरेपछि नयाँ भाइरसहरू मानिसमा सामान्य बन्छन् ।

चमेरोबाट बिरालोजस्तो देखिने सिभिट र त्यसपछि मानिसमा भाइरस सरेपछि सन् २००३ मा श्वासप्रश्वासम्बन्धी रोग सार्सको प्रकोप फैलिएको थियो । यो नयाँ भाइरसले पनि श्वासप्रश्वास प्रणालीमा गम्भीर खालको सङ्क्रमण गराउँछ ।

ज्वरो आउनु, त्यसपछि सुक्खा खोकी लाग्नु र केही हप्तापछि सास फेर्न गाह्रो हुनु यो रोगका लक्षण हुन् । संक्रमण भएका केही बिरामीलाई अस्पताल लगेर उपचार गर्नुपर्ने स्थिति उत्पन्न हुन्छ । यो रोगको छुट्टै औषधि वा खोप छैन ।

कोरोना भाइरसको संक्रमण भएका एकचौथाइ मानिसलाई मात्रै गम्भीर समस्या हुने बताइन्छ । मृत्यु हुनेमा अधिकांश वृद्धावस्थाका वा स्वास्थ्यसम्बन्धी अन्य समस्या भएका व्यक्ति छन् ।

चिनियाँ अधिकारीहरूले ‘वन्यजीवनको अवैध कारोबार’ गर्ने समुद्री खाद्यपदार्थको एउटा बजारबाट उक्त भाइरस फैलिएको आशंका व्यक्त गरेका छन् ।

भाइरस नियन्त्रणबारे के भन्छन् वैज्ञानिक ?

यूकेस्थित एमआरसी सेन्टर फोर ग्लोबल इन्फेक्शस डिजीज अन्यालसिसमा कार्यरत वैज्ञानिकहरूले चीनले यो भाइरस नियन्त्रण गर्न नसक्ने सम्भावना भएको चेतावनी दिएका छन् । उनीहरूका अनुसार अहिले फैलिएको महामारीको रूप हेर्दा कोरोनाभाइरस मानवबाट मानवमा सरेको हुन सक्छ ।

प्रत्येक संक्रमित व्यक्तिले सालाखाला २।५ जनालाई कोरोनाभाइरस सारिरहेको उनीहरूको आकलन छ । उक्त संस्थाले भाइरस नियन्त्रण गर्ने चीन सरकारको प्रयासको प्रशंसा गरेको छ । तर उसका अनुसार महामारी नियन्त्रण गर्न भाइरसको प्रसारण ६० प्रतिशतले घटाउन सक्नुपर्छ ।

त्यसो गर्न ठूलो चुनौती भएको उनीहरूको धारणा छ । किनभने त्यसका लागि सामान्य लक्षण भएका बिरामी फेला पार्नु र तिनलाई छुट्याएर अलग्गै राख्नुपर्ने हुन्छ ।

ल्यांकस्टर यूनिभर्सिटीका अनुसन्धानकर्ताहरूको एउटा टोलीले कोरोनाभाइरसबाट ११ हजार व्यक्ति प्रभावित भएको आकलन गरेका छन् । यदि सही हो भने यो सङ्ख्या सार्सको भन्दा बढी हुन्छ ।

कहाँ कहाँ फैलिएको छ ?

कोरोना भाइरस चीनबाट अन्यत्र पनि फैलिसकेको छ । तर प्रभावित व्यक्तिको संख्या कम छ । शनिवार अस्ट्रेलियाले चार जनामा कोरोनाभाइरस भएको पुष्टि गर्‍यो ।

तीमध्ये मेल्बर्नमा एक र सिड्नीमा तीन जना छन् । कोरोनाभाइरस युरोपमा पनि फैलिएको छ । फ्रान्समा तीन जना संक्रमित भएको पुष्टि भएको छ ।

यूकेमा परीक्षण गरिएका ३१ व्यक्तिमा कोरोनाभाइरस नभेटिएको सरकारले जनाएको छ। चीनको हुबेबाट भर्खरै फर्किएका झन्डै २,००० व्यक्तिको स्थिति पत्ता लगाउन अधिकारीहरूले खोजिरहेका छन् । चीनका छिमेकी देशमा पनि उच्च स्तरको सतर्कता अपनाइएको छ ।

थाईल्यान्ड, सिंगापुर, जापान, ताइवान, मलेसिया, भियतनाम, दक्षिण कोरिया र नेपालमा पनि संक्रमित व्यक्ति भेटिएको पुष्टि भएको छ । अमेरिकामा पनि दुई व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । (बीबीसीबाट)

प्रकाशित समय १०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु