गृहपृष्ठ ब्रिटेन ईयूबाट बाहिरिएपछि फेरिने र नफेरिने यस्ता छन् ७ कुरा

ब्रिटेन ईयूबाट बाहिरिएपछि फेरिने र नफेरिने यस्ता छन् ७ कुरा

सन् २०१६ को जुन २३ मा ब्रिटेनले युरोपेली संघ त्याग्ने पक्षमा भोट दिएको थियो
तीन वर्ष, तीन प्रधानमन्त्री र दुई निर्वाचनपछि यूके अन्तत: शुक्रवार जनवरी ३१ जीएमटीअनुसार राति ११ बजे युरोपेली संघ ईयूबाट अलग्गियो।

तर त्यस लगत्तै ब्रिटेन ११ महिना लामो संक्रमणकालमा प्रवेश गरेको छ । लामो समयदेखि चर्चामा रहेको ब्रेक्जिटले त्यसो भए के परिवर्तन भयो त ?

संक्रमणकालमा यूकेले ईयूको नियम मानिरहनेछ र ईयूलाई तिर्नुपर्ने पैसा पनि तिरिरहनेछ । कति कुरा पहिलाकै जस्ता हुनेछन् भने कति कुरा निकै बदलिनेछन् ।

१. युरोपेली संसद्का यूके सदस्यहरू पदमुक्त
ब्रेक्जिट पार्टीका नेता तथा यूकेले ईयू त्याग्नुपर्ने पक्षका मुख्य अभियानकर्ता नाइजेल फराज ती ७३ ब्रिटिश युरोपेली सांसदमध्ये हुन् जसको पद स्वत: समाप्त हुँदैछ । किनभने ब्रेक्जिटको समयमा यूकेले ईयूका सबै राजनीतिक निकाय तथा संस्था त्याग्नेछ।

तर यूकेले संक्रमणकालमा ईयूको नियम मान्नुका साथै युरोपेली न्यायालय (जुन निकायले ईयू कानुन कार्यान्वयन गराउँछ) लाई कानुनी विवादमा अन्तिम निरूपणको अधिकार प्राप्त भइरहनेछ ।

२. अब ईयू शिखर सम्मेलनमा ब्रिटेन हुने छैन

यूकेका प्रधानमन्त्री बोरिस जोन्सन विशेष निमन्त्रणाका बेलामा बाहेक अब आइन्दा हुने ईयू परिषद् शिखर सम्मेलनहरूमा सहभागी हुने छैनन् ।

साथै ब्रिटिश मन्त्रीहरू पनि विभिन्न युरोपेली नियमहरू बसाल्ने नियमित ईयू बैठकहरूमा अब सहभागी हुने छैनन् ।

३. व्यापारबारे अब निकै धेरै चर्चा सुनिने छन्

वस्तु तथा सेवाको किनबेचका नयाँ नियम बसाल्न यूकेले विश्वभरका देशहरूसँग वार्ता गर्न सक्नेछ । ईयूको सदस्य रहँदा रहँदै यूकेले अमेरिका तथा अस्ट्रेलियासँग औपचारिक व्यापार वार्ता गर्न पाएको थिएन ।

ब्रेक्जिट समर्थकहरूको भनाइमा स्वतन्त्रतापूर्वक आफ्नो व्यापारनीति बनाउन पाउँदा यूकेको अर्थतन्त्रलाई फाइदा हुनेछ ।

अनि ईयूसँग अझै धेरै छलफल बाँकी छन् । यूके-ईयू व्यापार सम्झौता उच्च प्राथमिकतामा छ, त्यसैले संक्रमण कालको अन्त्यसँगै वस्तु तथा सेवामा अतिरिक्त कर तथा अन्य व्यापार अवरोध आवश्यक पर्नेछैन ।

कुनै व्यापार सम्झौता हुने हो भने त्यो संक्रमण काल सकिएपछि मात्र सुरु हुनेछ ।

४. यूकेको पासपोर्टको रंग परिवर्तन हुनेछ

सन् १९८८ मा ब्रिटेनको नीलो पासपोर्टलाई ईयूअन्तर्गतको कलेजी पासपोर्टले विस्थापन गरेको थियो । पुरानो नीलो रंगको ब्रिटिश पासपोर्टको पुनरागमन हुनेछ । हालको कलेजी रंगको पासपोर्टले त्यसलाई ३० वर्ष अघि विस्थापन गरेको थियो ।

 

सन् २०१७ मा परिवर्तनहरूको घोषणा गर्दै आप्रवासी मामिलामन्त्री ब्र्यान्डन लुविसले सन् १९२१ मा पहिलो पटक प्रयोगमा आएको नीलो पासपोर्टको पुनरागमनको प्रशंसा गरेका थिए । आगामी केही महिनाहरूमा नयाँ पासपोर्ट चरणबद्ध रूपमा लागू गरिनेछ । यस वर्षको मध्यसम्ममा सबै पासपोर्ट बदलिसक्नेछन् ।

५. ब्रेक्जिट सिक्का

ब्रेक्जिटमा ढिलाइ हुँदा सिक्का पुन: बनाउनु परेको थियो । ब्रेक्जिटको संस्मरणमा बनाइएको ५० पेन्सका ३० लाख सिक्का शुक्रवार चलन चल्तीमा आए । तिनमा ज्यानुहरी ३१ को मिति तथा “शान्ति, सम्पन्नता र सबै देशसँग मित्रता” कुँदिएको छ ।

सिक्काले मिश्रित प्रतिक्रिया पाएको छ । ब्रेक्जिट विरोधी कतिपयले यसलाई नस्वीकार्ने भन्दै आएका छन् । यसअघि सरकारले यो सिक्का पहिले तोकिएको ब्रेक्जिट मिति अक्टोबर ३१ मा नै चलनचल्तीमा ल्याउन खोजेको थियो ।

तर ब्रेक्जिटको मिति परिवर्तन भएपछि ती सिक्का फेरि पगालेर नयाँ बनाउनुपर्‍यो । ब्रेक्जिटको दिनमा यूके-ईयू वार्ता गर्ने टोली तथा अन्य सम्बद्ध तयारीहरूको अन्त्य भयो ।

पूर्वप्रधानमन्त्री टरिजा मे ले सन् २०१६ मा युरोपेली संघ बहिर्गमन विभाग स्थापना गरेकी थिइन् ।आगामी वार्ताका लागि यूकेको वार्ता टोली प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटमै रहनेछ ।

७. जर्मनीले अपराधी यूके सुपुर्दगी गर्नेछैन

अब जर्मनी भागेका केही सन्दिग्ध अपराधीलाई यूके फिर्ता ल्याउन सम्भव हुनेछैन । जर्मनीको संविधानले ईयू सदस्य राष्ट्रबाहेक अन्यत्र उसका नागरिकलाई सुपुर्दगी गर्न अनुमति दिँदैन ।

‘यूकेले ईयू त्यागेपछि यो अपवाद लागु हुनेछैन,’ जर्मन संघीय न्याय मन्त्रालयका एक प्रवक्ताले बीबीसीलाई बताए । अरू देशको हकमा पनि यस्तै हुने हो कि भन्ने अझै प्रष्ट भइसकेको छैन । उदाहरणका लागि स्लोभेनियाले स्थिति जटिल हुने बताएको छ भने युरोपेली आयोगले यसमा टिप्पणी गरेको छैन ।

यूकेको गृह मन्त्रालयले भनेको छ युरोपेली पक्राउ पुर्जी संक्रमणकालमा लागू हुनेछ । (अर्थात् जर्मनीले गैरजर्मन नागरिकलाई सुपुर्दगी गर्न सक्नेछ ।)

सात कुरा जुन बदलिने छैनन्…

ब्रेक्जिटलगत्तै संक्रमणकाल सुरु हुने हुनाले कैयौँ अन्य कुरा पहिलेको जस्तै रहनेछन् । कम्तीमा सन् २०२० को डिसेम्बर ३१ सम्म ।

१. यात्रा
विमान, पानीजहाज र रेलहरू साविकझैँ चल्नेछन् ।

अध्यागमन वा पासपोर्ट नियन्त्रणको सन्दर्भमा चाहिँ संक्रमणकालको अवधिमा यूकेका नागरिकहरूलाई अझै पनि ईयू आगमनलाई तोकिएको क्षेत्रमा लाइन बस्न दिइनेछ ।

२. चालक अनुमतिपत्र तथा घरपालुवा जनावरका पासपोर्ट

म्याद नसकिन्जेल यी कागजपत्र मान्य रहिरहनेछन् ।

३. युरोपेली स्वास्थ्य बीमा कार्ड

ब्रिटेनका नागरिकलाई ईयूमा स्वास्थ्यसेवा लिन मिल्ने गरी बनाइएका यी विशेष कार्ड संक्रमण कालभरि मान्य हुनेछन् । यो त्यस्तो कार्ड हो जसले बिरामी वा दुर्घटनाका बेला यूकेका नागरिकहरूलाई युरोपमा सरकारी स्वास्थ्यसेवा उपलब्ध गराउँछ ।

ती कार्ड कुनै पनि ईयू सदस्य राष्ट्रमा लागु हुन्छन् (साथै स्वीट्जर्ल्यान्ड, नर्वे, आइसल्यान्ड र लिक्टेन्स्टाइनमा पनि) र ती संक्रमणकालीन अवधिभर लागू भइरहने छन् ।

४. ईयूमा बसोबास र काम

संक्रमणकालीन अवधिमा आवतजावतको स्वतन्त्रता रहिरहनेछ । त्यसैले यो अवधिमा यूकेका नागरिकहरूले अहिलेको जस्तै ईयूमा बस्न र काम गर्न पाउनेछन् ।

त्यस्तै व्यवस्था यूकेमा बस्न र काम गर्न चाहने ईयूका नागरिकको हकमा पनि लागू हुनेछ ।

५. पेन्सन

ईयूमा बस्ने यूकेका नागरिकहरूले सरकारी पेन्सन तथा वार्षिक वृद्धि पाइरहनेछन् ।

६. बजेट योगदान

संक्रमणकालभर यूकेले ईयूलाई बजेट योगदान दिइरहनेछ । यसको अर्थ ईयूको अनुदानबाट सञ्चालित साविकका कार्यक्रमहरू चलिरहनेछन् ।

७. व्यापार

यूके-ईयू व्यापार कुनै अतिरिक्त कर वा चेकजाँचबिना निरन्तर चल्नेछन्। (टम एजिङ्टन/बीबीसी)

प्रकाशित समय १५:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु