गृहपृष्ठ दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १७ वर्ष जेल सजाय
दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १७ वर्ष जेल सजाय
दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्यूङ-बाकलाई भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ । अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज गरिदिएको हो ।
सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका ली म्यूङलाई सन् २०१८ मा जेल हालिएको थियो । उनीमाथि त्यसबखत १५ वर्षको जेल सजाय र एक करोड १० लाख अमेरिकी डलर जरिवाना तोकिएको थियो । तर अदालतमा अपिल गरेपछि उनलाई तारेखमा छाडिएको थियो ।
सियोलस्थित जिल्ला अदालतमा बुधबार भएको सुनुवाईका क्रममा अदालतले विगतको भन्दा बढी सजाय सुनाएको हो । आफूले विगतमा गरेका गल्तीको म्यूङले कुनै प्रायःश्चित नगरेको र जिम्मेवारीबोध समेत नगरेको अदालतको ठहर छ ।
आफ्नो शासनकालमा राष्ट्रपति म्यूङले पदीय दुरुपयोग गरी करछलीको आरोपमा जेलमा परेका सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन-हीलाई जेलबाट छुटाउन घुस लिएर माफी दिएका थिए ।
अर्का पूर्वराष्ट्रपति पार्क गिउन-हेलाई शक्तिको दुरुपयोग गरेको आरोपमा ३२ वर्षको जेल सजाय दिइएको छ । (रासस)
प्रकाशित समय १५:५२ बजे

















