गृहपृष्ठ भारतीय यस बैंकका संस्थापक निवासबाटै पक्राउ

भारतीय यस बैंकका संस्थापक निवासबाटै पक्राउ

भारतको समस्याग्रस्त घोषणा गरिएको ‘यस बैंक’का संस्थापकलाई आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएको छ । भारतमा निजी क्षेत्रको चौथो ठूलो यस बैंकको वित्तीय अवस्था कमजोर भएसँगै भारतीय रिजर्भ बैंकले कारोबारमा अस्थायी प्रतिबन्ध लगाएको छ ।

भारतको केन्द्रीय बैंकले आकस्मिक रुपमा शुक्रबार मध्यराति उक्त बैंकलाई नियन्त्रणमा लिनुका साथै बैंकबाट ५० हजार भारुभन्दा बढी रकम झिक्न नपाइने गरी प्रतिबन्ध लगाएको थियो । पछिल्ला दिनहरुमा बढ्दै गएको खराब कर्जाका कारण बैंकमाथि संकट आएको थियो ।

भारतको वित्तीय अपराधसम्बन्धी जाँच एजेन्सीका अधिकारीहरुले आइतबार बिहान ३ बजे बैंकका संस्थापक राना कपूरलाई मुम्बईस्थित निवासबाट पक्राउ गरेका थिए ।

जाँच एजेन्सीका एक अधिकारीले एएफपीलाई बताएअनुसार रानाले बैंकसम्बन्धी अनुसन्धानमा असहयोग गरेपछि पक्राउ गरिएको हो । यस बैंकले पनि रानाको गिरफ्तारीको पुष्टि गरेको छ ।

अधिकारीहरुले मुम्बईस्थित रानाको भव्य महलमा छापा मारेको थियो ।

भारतीय रिजर्भ बैंकले यस बैंकका ग्राहकलाई एक महिनाको अवधिमा ५० हजार भारतीय रुपैयाँ मात्र झिक्न पाउने व्यवस्था गरेपछि ग्राहकहरुमा निराशा छाएको छ । मानिसहरु यस बैंकका एटीएम र शाखाहरुमा शुक्रबार र शनिबार लामो लाइनमा बस्न बाध्य भएका थिए ।

रिजर्भ बैंकको उद्धार योजना बमोजिम भारतीय स्टेट बैंक (एसबीआई)ले समस्याग्रस्त ‘यस बैंक’को ४९ प्रतिशत सेयर खरिद गर्न २ अर्ब ४५ करोड भारतीय रुपैयाँ लगानी गर्ने जनाएको छ । एसबीआईका अध्यक्ष रजनिश कुमारले यस बैंकमा लगानी गर्न २३ जना लगानीकर्ताले अभिरुचि देखाइसकेको पनि जानकारी दिए ।

यस बैंकले खराब ऋण उठाउन नसक्दा पर्याप्त पूँजी लगानी गर्न नसकेको रिजर्भ बैंकको भनाई छ । यस बैंकका एक हजारभन्दा बढी शाखा र एक हजार ८०० भन्दा बढी एटीएम छन् । (रासस)

प्रकाशित समय १५:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु