गृहपृष्ठ सार्कमा कोरोना संक्रमितको संख्या आठ हजार नाघ्यो, ६३६ जनाको सफल उपचार
सार्कमा कोरोना संक्रमितको संख्या आठ हजार नाघ्यो, ६३६ जनाको सफल उपचार
सबैभन्दा बढी संक्रमण भारतमा ४२८८, भुटानमा ५ जना संक्रमित, १८५ को ज्यान गयो
विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनको संख्या बढ्दै गएको छ । चीनबाट विश्वभर फैलिएको भाइरसले पछिल्लो समय युरोपियन मुलुक र अमेरिकामा हब नै बनाएको छ ।
भाइरसको दक्षिण एसियामा कम फैलिए पनि केही दिनयता भने बढ्दै गएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा पनि भाइरस फैलिदै गएको छ । अहिलेसम्म सार्कमा ज्यान गुमाउनेको संख्या १८५ पुगेको छ । त्यस्तै आठ हजार ९१ जनामा संक्रमण देखा परेको छ । गएको २४ घण्टामा मात्रै सार्कमा एक हजार १०७ नयाँ संक्रमण देखिएको छ भने एकै दिनमा २५ जनाले ज्यान गुमाएका छन् । भाइरसका कारण ६३६ जनाको सफल उपचार भएको छ ।
सार्कका ८ मुलुकमध्ये सबैभन्दा बढी भाइरसको प्रकोप भारतमा देखिएको छ । भारतमा संक्रमणको संख्या चार हजार २८८ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ११७ पुगेको छ । गएका २४ घण्टामा मात्रै ७०० जनामा नयाँ संक्रमण देखिएको छ भने १८ जनाले ज्यान गुमाएका छन् । भारतमा भाइरस संक्रमित ३२८ जनाको सफल उपचार भएको छ ।
सार्कमा सबैभन्दा बढी संक्रमण फैलिएको भारतपछि पाकिस्तान देखिएको छ । पाकिस्तानमा संक्रमितको संख्या तीन हजार १५७ पुगेको छ भने ४७ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा त्यो देशमा ३३९ जना नयाँ संक्रमित फेला परेका छन् भने ६ जनाको ज्यान गएको छ । त्यस्तै २११ जना उपचारपछि सञ्चो भइसकेको छ ।
श्रीलंकामा संक्रमणको संख्या १७६ पुगेको छ भने ५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै एकै दिनमा नयाँ संक्रमण १० पुगेको छ । अहिलेसम्म ३३ जनालाई सञ्चो भइसकेको छ । त्यस्तै अफ्गानस्थानमा संक्रमितको संख्या ३४९ पुगेको छ । ७ जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टाभित्रै ४० जनामा नयाँ संक्रमण देखा परेको छ भने अहिलेसम्म १५ जनालाई सञ्चो भइसकेको छ ।
बंगलादेशमा संक्रमणको संख्या ८८ पुगेको छ भने ९ जनाले ज्यान गुमाएका छन् । हिजो मात्रै १८ जनामा नयाँ संक्रमण देखिएको छ भने १ जनाको मृत्यु भएको छ । अहिलेसम्म ३३ जनाको सफल उपचार भएको छ । त्यस्तै भुटानमा ५ जनामा संक्रमण देखिएको छ भने २ जनालाई सञ्चो भइसकेको छ । नेपाल ९ जनामा संक्रमण देखिएको छ । त्यस्तै १ जनाको सफल उपचार भएको छ ।
माल्दिभ्समा भने भाइरसको संक्रमण नियन्त्रण जस्तै भएको छ । अरु देशको तुलनामा हेर्ने हो भने माल्दिभ्समा संक्रमणकै हाराहारीमा सञ्चो भइसकेको छ । अहिलेसम्म त्यहाँ १९ जनामा संक्रमण देखिएको थियो भने १३ जनालाई सञ्चो भइसकेको छ । बाँकी ७ जनामा उपचाररत छन् ।
प्रकाशित समय १०:२५ बजे

















