गृहपृष्ठ बेलायती महारानी एलिजावेथको जन्मदिनमा सलामी नदिइने
बेलायती महारानी एलिजावेथको जन्मदिनमा सलामी नदिइने
गोर्खा फाैज निरीक्षणमा महारानी एलिजावेथ द्वितीय । (फाइल तस्बिर)
कोरोनाभाइरस संकटका कारण बेलायती महारानी एलिजावेथ द्वितीयलाई जन्मदिनका दिन दिइने परम्परागत सलामीको कार्यक्रम यस वर्ष नहुने र जन्मदिनलाई सामान्य रूपमा मनाइने बकिंघम रोयाल प्यालेसले जानकारी गराएको छ ।
शनिबार दरबार स्रोतले भनेको छ, ‘महारानीको जन्मोत्सवका दिन मंगलबार त्यहाँ कुनै बन्दुक पड्काएर सलामी (सम्मान) हुने छैन । महारानीले अहिलेको विषम परिस्थितिका कारण बन्दुकको सलामी र अन्य कुनै विशेष कार्यक्रम नगर्न इच्छा प्रकट गर्नुभएकोले उक्त कार्यक्रमलाई यस वर्ष नगरिने भएको हो ।’
महारानी मंगलबार (अप्रिल २१) मा ९४ वर्ष लाग्दैछन् । उनले विरलै राष्ट्रिय सम्बोधन गर्ने भए पनि इशाईहरूको धार्मिक पर्व इस्टरमा गरेको सम्बोधनमा उनले कोरोनाभाइरस संक्रमणको स्वास्थ्य समस्याबाट छिट्टै मुक्त हुने विश्वास व्यक्त गरेकी थिइन् ।
‘हामीलाई विश्वास छ कोरोनाभाइरसले समस्त मानव जातिलाई जित्न सक्दैन’, महारानीले उक्त सम्बोधनमा भनेकी थिइन्, ‘कोरोनाविरूद्धको संकट हटेपछि देशमा बन्दाबन्दी (लकडाउन) पनि हट्ने छ र त्यसपछि हामीहरू सार्वजनिक रूपमा उपस्थित हुनेछाैँ । हामी फेरि भेट्नेछौँ ।’
विश्वव्यापी महामारीको रूप लिएको कोरोनाभाइरसका कारण शनिबार सम्ममा सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा रहेको छ । त्यसपछि स्पेन, इटली, फ्रान्स, जर्मनी र बेलायत प्रभावित छन् । (रासस)
प्रकाशित समय २१:५७ बजे

















