गृहपृष्ठ धनगढीका संक्रमित युवकको दोस्रो रिपोर्ट नेगेटिभ, बाँकी ४ को फेरि पोजेटिभ
धनगढीका संक्रमित युवकको दोस्रो रिपोर्ट नेगेटिभ, बाँकी ४ को फेरि पोजेटिभ
कोरोनाभाइरस संक्रमित कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । कोरोनाभाइरस संक्रमण देखिएपछि उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् ।
अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको बताए । डा. जोशीका अनुसार रिपोर्ट नेगेटिभ आए पनि उनलाई तत्काल डिस्चार्ज भने गरिने छैन । २४ घण्टाभित्र अर्को रिपोर्ट पनि नेगेटिभ आयो भने मात्रै उनलाई डिस्चार्ज गरिने डा. जोशीले बताए ।
सुदूरपश्चिम प्रदेशका पाँच जनामा कोरोना संक्रमण देखिएको छ । चार जनाको पछिल्लो रिपोर्ट भने पोजेटिभ नै आएको अस्पतालले जानकारी दिएको छ । धनगढी उपमहानगरपालिका- ५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीया भाउजू, कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका- १ की ६० वर्षीय महिलाको तेस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो । सबैको अवस्था सामान्य रहेको डा. जोशीले बताए ।
प्रकाशित समय २१:२५ बजे
















