गृहपृष्ठ इरानी युद्धपोतद्वारा भूलवश क्षेप्यास्त्र प्रहार, १९ सैनिकको मृत्यु
इरानी युद्धपोतद्वारा भूलवश क्षेप्यास्त्र प्रहार, १९ सैनिकको मृत्यु
तालिमका क्रममा एउटा इरानी युद्धपोतबाट प्रहार गरिएको क्षेप्यास्त्र भूलवश अर्को युद्धपोतमा ठक्कर खाँदा कम्तीमा १९ सैनिकको ज्यान गएको छ । गल्फ अफ ओमान अर्थात् ओमानी जलक्षेत्रमा भएको यस दुर्घटनामा अरु १५ जना घाइते भएको इरानी सञ्चार माध्यमहरुले जनाएका छन् ।
खाडी क्षेत्रका मुलुकबाट तेल निर्यातका लागि निकै संवेदनशील सामुद्रिक मार्गका रुपमा रहेको ओमानी जल क्षेत्र हुँदै जहाजहरु स्ट्रेट अफ हर्मुजतर्फ ओहोरदोहोर गर्दछन् । स्ट्रेट अफ हर्मुज र ओमानी जल क्षेत्रमा इरानले नियमित रुपमा सैन्य अभ्यास गर्ने गरेको छ । इरानी टेलिभिजन आइरिबले एउटा जहाजबाट प्रहार गरिएको क्षेप्यास्त्र नजिकै रहेको अर्को जहाजमा खसेको जनाएको छ ।
بعدازظهر روز گذشته در حین انجام تمرین دریایی توسط تعدادی از شناورهای نیروی دریایی ارتش، شناور پشتیبانی سبک #کنارک دچار حادثه شد که تا کنون شهادت یک نفر محرز و تعدادی نیز مجروح شدهاند. pic.twitter.com/auWyq0TNBi
— خبرگزاری فارس (@FarsNews_Agency) May 11, 2020
फार्स समाचार एजेन्सीले एक सैनिक स्रोतलाई उद्धृत गर्दै इरानी सञ्चार माध्यममा प्रसारण भएझैँ कोनाराक नामको लडाकू युद्धपोत समुद्रमा नडुबेको जनाएको छ । इरानी जल सेनाले उक्त दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
आइरिबले नेदरल्यान्डमा निर्मित कोनाराक युद्धपोत सन् १९७९ को इस्लामिक क्रान्तिअघि इरानले खरिद गरेको थियो । यो जहाजलाई सन् २०१८ मा मर्मत गरी यसमा चारवटा क्रुज क्षेप्यास्त्र जडान गरिएको छ ।
यो दुर्घटना इरान र संयुक्त राज्य अमेरिकाबीच जारी तनावकै बीचमा भएको छ । सन् २०१८ देखि नै दुबै मुलुकबीच तनावकै स्थिति रहे पनि गत जनवरीको सुरुमा वरिष्ट इरानी सैनिक जनरल कासिम सुलेमानीको अमेरिकी कारबाहीमा इराकमा मारिएपछि तनाव अझ बढेको छ ।
अमेरिकी कारबाहीको प्रतिशोधमा इरानले पनि जनवरी ९ मा इराकस्थित अमेरिकी अखडाहरुमा क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यही दिन इरानी सैनिकले प्रहार गरेको क्षेप्यास्त्रबाट युक्रेनी यात्रुबाहक विमान इरानमा खसेको थियो जसका कारण विमानमा यात्रारत १७६ जनाको निधन भएको थियो । (रासस)
प्रकाशित समय १७:०८ बजे

















