गृहपृष्ठ इरानी युद्धपोतद्वारा भुलवस क्षेप्यास्त्र प्रहार हुँदा १९ सैनिकको मृत्यु

इरानी युद्धपोतद्वारा भुलवस क्षेप्यास्त्र प्रहार हुँदा १९ सैनिकको मृत्यु

फाइल तस्बिर ।

तालिमका क्रममा एउटा इरानी युद्धपोतबाट प्रहार गरिएको क्षेप्यास्त्र भुलबस अर्को युद्धपोतमा ठक्कर खाँदा १९ सैनिकको ज्यान गएको छ । गल्फ अफ ओमान अर्थात् ओमानी जलक्षेत्रमा भएको दुर्घटनामा १५ जना घाइते भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

खाडी क्षेत्रका मुलुकबाट तेल निर्यातका लागि निकै संवेदनशील सामुद्रिक मार्गका रुपमा रहेको ओमानी जलक्षेत्र हुँदै जहाजहरु स्ट्रेट अफ हर्मुजतर्फ ओहोरदोहोर गर्छन् । स्ट्रेट अफ हर्मुज र ओमानी जलक्षेत्रमा इरानले नियमित रुपमा सैन्य अभ्यास गर्ने गरेको छ । इरानी टेलिभिजन आइरिबले एउटा जहाजबाट प्रहार गरिएको क्षेप्यास्त्र नजिकै रहेको अर्को जहाजमा खसेको जनाएको छ ।

फार्स समाचार एजेन्सीले एक सैनिक स्रोतलाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यममा प्रसारण भएझैँ कोनाराक नामको लडाकु युद्धपोत समुद्रमा नडुबेको जनाएको छ । इरानी जलसेनाले उक्त दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

आइरिबले नेदरल्यान्डमा निर्मित कोनाराक युद्धपोत सन् १९७९ को इस्लामिक क्रान्तिअघि इरानले खरिद गरेको थियो । यो जहाजलाई सन् २०१८ मा मर्मत गरी यसमा चारवटा क्रुज क्षेप्यास्त्र जडान गरिएको छ ।

यो दुर्घटना इरान र संयुक्तराज्य अमेरिकाबीच जारी तनाबकै बीचमा भएको छ । सन् २०१८ देखि नै दुबै मुलुकबीच तनावकै स्थिति रहे पनि गत जनवरीको सुरुमा वरिष्ठ इरानी सैनिक जनरल कासिम सुलेमानीको अमेरिकी कारबाहीमा इराकमा मारिएपछि तनाव अझ बढेको छ ।

अमेरिकी कारबाहीको प्रतिशोधमा इरानले पनि जनवरी ९ मा इराकस्थित अमेरिकी अखडाहरुमा क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यही दिन इरानी सैनिकले प्रहार गरेको क्षेप्यास्त्रबाट युक्रेनी यात्रुबाहक विमान इरानमा खसेको थियो जसका कारण विमानमा यात्रारत १७६ जनाको निधन भएको थियो ।

प्रकाशित समय १९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु