गृहपृष्ठ मन्त्री भुसालले सुरु गरे योजना कार्यान्वयन, रोप्नुअघि नै धानको समर्थन मूल्य तोकियो
मन्त्री भुसालले सुरु गरे योजना कार्यान्वयन, रोप्नुअघि नै धानको समर्थन मूल्य तोकियो
फाइल तस्बिर
सरकारले रोप्नुअघि नै धानको समर्थन मूल्य तोकेको छ । कृषि मन्त्रालयको सिफारिस र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको मंगलबार साँझ बसेको बैठकले धानको समर्थन मूल्य तोकेको हो ।
मध्यम धानको मूल्य प्रतिक्विन्टल २ हजार ८८५ रुपैयाँ र मोटा धानको मूल्य २ हजार ७३५ तोकिएको छ । मन्त्रालयका अनुसार खेतीको सबै लागत खर्चमा २० प्रतिशत नाफा र १० प्रतिशत ढुवानी भाडा जोडेर मूल्य तोकिएको हो । नेपालमा बाली लगाउनुअघि धानको न्यूनतम समर्थन मूल्य तोकिएको पहिलोपटक हो ।
‘संरक्षित कृषि, सुनिश्चित बचत’ अन्तर्गत बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले बताएका थिए । उनले किसानलाई निश्चित बचत ग्यारेन्टी हुनेगरी मुख्य बालीको न्यूनतम समर्थन मूल्य तोक्ने र बजारमा बिक्री नभए सरकारले खरिद गर्ने व्यवस्था गरेर कृषिलाई संरक्षित र किसानलाई नाफा हुने वातावरण बनाउने बताउँदै आएका थिए । अन्य मुख्य बालीको पनि खेतीअघि नै न्यूनतम समर्थन मूल्य तोकिने मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय १३:०६ बजे

















