गृहपृष्ठ ‘परीक्षण बढाउँदा संक्रमितको संख्या बढ्छ, त्यसैले परीक्षणमा हतार नगरौं’
‘परीक्षण बढाउँदा संक्रमितको संख्या बढ्छ, त्यसैले परीक्षणमा हतार नगरौं’
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस संक्रमणमा संलग्न स्वास्थ्यकर्मी तथा ल्याबका कर्मचारीलाई परीक्षण क्रमशः ढिलो गर्न आग्रह गरेका छन् । स्थानीय समयअनुसार शुक्रबार उनले ‘जति परीक्षणलाई बढायो त्यति संक्रमितको संख्या बढ्ने’ भन्दै परीक्षणमा हतार नगर्न प्रोत्साहन गरेका हुन् ।
ओक्लाहोमाको तुल्सामा कोरोनाभाइरस महामारीको बीचमा आफ्नो राष्ट्रपतीय अभियान सुरू गर्दै उनले भने, ‘हेर्नुस्, सबैलाई थाहा भएको कुरा यो चीनबाट फैलिएको हो तर मैले निर्णय गरेँ कि यसका बारेमा कुनै ठूलो निर्णय गर्नु पर्दैन ।’
उनले राष्ट्रपतिको नयाँ कार्यकालका लागि निर्वाचन अभियानको स्टेजमा उभिएर थालनी गरेका थिए । उक्त अवसरमा उनले संक्रमणबाट सुरक्षित हुनका लागि मुखमा मास्क लगाएका थिएनन् । उनको अभियानमा सहभागी हजारौँ शुभेच्छुकले पनि आफ्ना नेताको भावनालाई पछ्याउँदै मास्क तथा पञ्जाको प्रयोग गरेका थिएनन् ।
आफूले पहिले चीनबाट आउने सबै र पछि यूरोपबाट आउनेसमेत व्यक्तिको प्रवेशमा लगाएको प्रतिबन्धले समस्यालाई कम गरेको पुष्टि गर्ने प्रयास गर्दै ट्रम्पले भने, ‘जब तपाईले त्यो ठूलो मात्रामा परीक्षण गर्नुहुन्छ धेरै नागरिक संक्रमित भएको भेटिनेछ । त्यसैले मैले अमेरिकी अधिकारीहरूलाई भन्ने गरेको छु कि हामीले परीक्षण गरिरहेको छौँ तर नागरिकहरूलाई थाहा छैन के भइरहेको छ ।’
ट्रम्पका अनुसार अमेरिकामा धेरै व्यक्ति (दुई करोड ५० लाखभन्दा बढी) को कोभिड- १९ परीक्षण भएकोले धेरै संक्रमित देखिएको हो । चुनावी जुलुसको उद्घाटनका अवसरमा अमेरिकी राष्ट्रपतिले विद्यालय पनि खोल्नुपर्ने तर्क गर्दै भने, ‘बालबालिका हामीभन्दा धेरै शक्तिशाली हुन्छन् ।’
अमेरिकी जोन हकिन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा आइतबारसम्म कूल २२ लाख ५४ हजार ६६२ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा एक लाख १९ हजार ७१९संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित समय १४:३७ बजे

















