गृहपृष्ठ यूएईमा जुलाई ७ देखि विदेशीलाई आगमन खुला
यूएईमा जुलाई ७ देखि विदेशीलाई आगमन खुला
नोवेल कोरोनाभाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथाममा अपेक्षित उपलब्धि हासिल गरेको युनाइटेड अरब इमिरेट्स (यूएई)ले जुलाई ७ देखि विदेशी पर्यटकका लागि आगमन खुला गर्ने भएको छ । स्थानीय पत्रिका खालिज टाइम्सका अनुसार कोरोनाभाइरस नियन्त्रणमा आएसँगै सरकारले बाह्य पर्यटकलाई खुला गर्न लागेको हो ।
यूएई जान चाहने हरेक विदेशी पर्यटकले केही दिनभित्र परीक्षण गरेको कोरोनाभाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ । यूएई पुगेपछि पनि विमानस्थलमा कोरोनाभाइरस परीक्षणको व्यवस्था गरिएको छ । दुबईले जुन २२ देखि विदेशमा रहेका आफ्ना नागरिकलाई पनि स्वदेश ल्याउन थालेको छ ।
त्यस्तै, आफ्ना नागरिकलाई पनि जुन २३ देखि विदेश भ्रमणका लागि अनुमति दिने यूएई सरकारले जनाएको छ । यूएईमा हालसम्म ४५ हजार ३०३ जनालाई कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये ३३ हजार ४६ जना उपचारपछि घर फर्किसकेका छन् भने ११ हजार ९५४ जना उपचाररत छन्, जसमा एक जनाको अवस्था गम्भीर छ । यूएईमा बितेका २४ घण्टामा ३७८ जना कोरोना संक्रमित थपिएका छन् ।
कोरोना संक्रमितको संख्या बढिरहे पनि यूएईमा मृत्युदर निकै कम छ । हालसम्म यूएईमा कोरोनाबाट ३०३ जनाले ज्यान गुमाएका छन् । कोभिड १९ फैलिरहने र तत्काल उपचार तथा खोप उपलब्ध नहुने भएपछि अर्थतन्त्रलाई सहज बनाउने यूएई सरकारले यस्तो निर्णय लिएको हो । विश्वका धेरै देशले नागरिकलाई सतर्क गराउँदै लकडाउन हटाइसकेका छन् । कोरोनाबाट बच्न होम क्वारेन्टिन या अरु उपाय नागरिकले स्वयं अपनाउनुपर्ने र सरकारले कोरोनाका कारण गम्भीर भएका नागरिकका लागि हेल्थ स्टेसनको सहज उपलब्धता गराएसँगै यूएईका नागरिक पनि ढुक्कका साथ बाहिर निस्किन र नियमित जीवन जीउन थालेका छन् ।
प्रकाशित समय ०८:२७ बजे

















