गृहपृष्ठ सिंगापुरमा सत्तारुढ दल नै विजयी, विपक्षी दललाई १० सिट मात्रै

सिंगापुरमा सत्तारुढ दल नै विजयी, विपक्षी दललाई १० सिट मात्रै

सिंगापुरमा शुक्रबार भएको आम निर्वाचनबाट पनि सत्तारुढ दल नै विजयी भएको छ । सत्तारुढ दल पिपल्स एक्सन पार्टी (पीएपी) ले नै निर्वाचनमार्फत् फेरि सत्ता सञ्चालनको जनादेश पाएको हो ।

कुल खसेको मतमध्ये ९० प्रतिशतसम्मको नतिजा आउँदा ९३ सिटमध्ये विपक्षी दल वकर्स पार्टी (डब्लुपी)ले १० मात्रै सिटमा जित्न सफल भएको छ । निर्वाचनको नतिजा औपचारिक घोषणा भएपछि सत्तारुढ दलले सरकार गठनका लागि गृहकार्य गर्ने साउथ चाइना मर्निङ पोष्टले लेखेको छ ।

अहिले सत्तामा रहेको दल सन् १९५९ देखि सत्तामा रहदै आएको छ । अहिले भएको निर्वाचनमा कुल मतदातामध्ये ६१.२४ प्रतिशत मात्रै मतदाता सहभागी भएका थिए । आफ्नो पक्षमा निर्वाचनको नतिजा आएपछि प्रधानमन्त्री लि हसिन लुङले नतिजालाई सकारात्मक र सन्तोषजनक रुपमा लिएको बताएका छन् ।

यसलाई अति ठूलो उपलब्धिको रुपमा लिनुपर्ने अवस्था नरहेको यो अनपेक्षित नतिजा नभएको उनको भनाइ छ । ‘अहिले जुन मत हाम्रो पक्षमा आएको छ, त्यो एकदमै बलियो मतादेश हैन, मैले त्योभन्दा धेरै आउला भन्ने आशा गरेको थिए, तर पनि राम्रो चाहिं भएको छ,’ उनले भनेका छन्।

उनले आफ्नो पक्षमा आएको ६१ प्रतिशत मत लोकप्रिय मत नै भएको र यसको पूर्ण आदर गर्ने पनि बताए । सत्तारुढ दल पीएपीले यसअघि सन् २०१५ मा ६९.९ प्रतिशत मत ल्याएकोमा अहिले ८.७ प्रतिशत घटेर ६१.२४ प्रतिशत मात्रै ल्याएको हो ।

मतदानका लागि सामाजिक दुरी कायम राखेर मतदान गर्ने व्यवस्था गरिएको थियो भने कोरानाभाइरसका लागि अपनाउनु पर्ने अन्य सतर्कताहरु अपनाउन पनि लगाइएको थियो । देशभरी मतदानका लागि यसअघि ८८० मतदान केन्द्रहरु रहेकोमा यस पटक बढाएर ११ सय पुर्‍याइएको थियो ।

प्रकाशित समय १६:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु