गृहपृष्ठ ह्यूस्टनस्थित चिनियाँ महावाणिज्यदूतावास बन्द गर्न अमेरिकी आदेश

ह्यूस्टनस्थित चिनियाँ महावाणिज्यदूतावास बन्द गर्न अमेरिकी आदेश

महावाणिज्यदूतावसमा रहेका कागजातहरू जलाउँदा धुवाँ निस्किएपछि पुगेको दमकल।

संयुक्तराज्य अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ । चीनले अमेरिकाको उक्त कदमले दुबै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पुर्‍याउने भन्दै विरोध गरेको छ ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच पछिल्ला केही वर्षदेखि विभिन्न विषयमा गम्भीर मतान्तर रहँदै आएको छ । पछिल्लो समय अर्ध-स्वायत्त हङकङका सन्दर्भमा पारित भएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनलाई लिएर अमेरिकाले तीव्र असन्तोष व्यक्त गरेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले महावाणिज्यदूतावास बन्द गर्न दिइएको गलत आदेश तत्काल फिर्ता चीनले अमेरिकासमक्ष आग्रह गरेको बताए । उनले अमेरिकाले उक्त कदम नसच्याए चीनले पनि जवाफमा उपयुक्त र आवश्यक कदम चाल्ने चेतावनी दिए ।

प्रवक्ता वाङले भने, ‘यो अमेरिकाले एकपक्षीय रुपमा संचालन गरेको राजनीतिक भड्काउपूर्ण कार्य हो, र यसले अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन गर्दछ । साथै यो चीन र अमेरिकाबीच भएको द्विपक्षीय कन्सुलर सम्झौताको पनि उल्लंघन हो ।’

उनले अमेरिकाबाट भएको यो लज्जाजनक एवं अन्यायपूर्ण कदमको हामी कडा शब्दमा निन्दा गर्दछौं भन्दै यस कदमले चीन-अमेरिका सम्बन्धलाई ध्वस्त बनाउनसक्ने बताए ।

ह्यूस्टनस्थित स्थानीय सञ्चार माध्यमका अनुसार महावाणिज्यदूतावास परिसरमा भवनका कागजात जलाइएपछि स्थानीय अग्निनियन्त्रक र प्रहरीहरु साँझपख कन्सुलेट भवनमा पुगेका थिए । ह्यूस्टन प्रहरी प्रमुखले भवनको परिसरबाट धुँवा निस्केको जानकारी दिँदै भवन परिसरभित्र प्रवेश गर्न नदिइएको बताए ।

प्रकाशित समय १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु