गृहपृष्ठ पोल्याण्डको सर्वोच्च अदालतको फैसला डुडाको पक्षमा
पोल्याण्डको सर्वोच्च अदालतको फैसला डुडाको पक्षमा
ID:237984922
पोल्याण्डमा हालै भएको राष्ट्रपतीय निर्वाचनको विषयमा सर्वोच्च अदालतले वर्तमान राष्ट्रपति अन्डर्जेन डुडाको पक्षमा फैसला गरेको छ ।
उहाँको पक्षमा आएको निर्वाचनको नतिजालाई अस्वीकार गर्दै दिइएको चुनौतीलाई अदालतले सोमबार गलत ठहर गरेको हो । राष्ट्रपति डुडाको विपक्षी समूहले निर्वाचनको नतिजा धाँधलीपूर्ण भएकोले स्वीकार्न नसकिने दावी सहित अदालतमा मुद्दा दायर गरेका थिए ।
पोल्याण्डमा गत जुन २८ मा राष्ट्रपति चयनका लागि पहिलो चरणको मतदान भएको थियो भने कुनै उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि जुलाई १२ मा दोस्रो चरणको निर्वाचन गरिएको थियो ।
त्यसपछि सार्वजनिक गरिएको निर्वाचनको नतिजामा डुडाले ५१ प्रतिशत मत ल्याएर निर्वाचित भएको उल्लेख गरिएको थियो । तर विपक्षीहरुले भने राज्य शक्ति र श्रोतको दुरुपयोग गरेर डुडाले निर्वाचनको नतिजालाई आफ्नो पक्षमा पारेको आरोप लगाएका थिए ।
राष्ट्रपतिय निर्वाचनमा डुडालाई चुनौती दिन वार्साका मेयरसमेत भएका राफल त्रजास्कोब्स्की उम्मेदवार भएका थिए । विपक्षीहरुले बनाएको नागरिक गठबन्धनको तर्फबाट चुनावी मैदानमा उत्रिनु भएका राफलले ४८.९७ प्रतिशत मत ल्याउनु भएको घोषणा गरिएको थियो ।
कोरोनाको त्रासबीचमा भएको निर्वाचनमा पनि कुल मतदातामध्ये ६८.१२ प्रतिशत मतदाताले मतदान गरेका थिए ।
यो निर्वाचन गत मे मै हुनुपर्ने भए पनि कोरोनाभाइरसको महामारीका कारण जुन २८ का लागि सरेको हो । निर्वाचनका लागि वर्तमान राष्ट्रपति डुडासँगै अरु दश जना चुनावी प्रतिस्पर्धामा रहेका थिए । अठचालीस वर्षीय डुडालाई सत्तारुढ अनुदारवादी ‘ल एण्ड जस्टिस पार्टी’को समर्थन रहेको थियो ।
सर्वोच्च अदालतको फैसलासँगै उनी दोस्रो पाँच वर्षे कार्यकालका लागि राष्ट्रपति बनेका छन् । युरोपेली संघको सदस्यसमेत रहेको यो देशमा अन्य युरोपेली देशहरुले जस्तो कोरोनाभाइरसको महामारी भोग्नु परेको छैन ।
मतदानका लागि कोरोनाबाट बच्न अपनाइने आधारभूत सुरक्षा सतर्कता भने अपनाउन मतदातालाई सचेत गराइएको थियो । (एजेन्सी)
प्रकाशित समय १०:४९ बजे

















