गृहपृष्ठ उत्तर कोरियाको मुख्य सीमा सहरमा लकडाउन घोषणा
उत्तर कोरियाको मुख्य सीमा सहरमा लकडाउन घोषणा
फाइल तस्बिर ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका छन् । छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन लगाइएको समाचारमा जनाइएको छ । लकडाउन लगाइएको सहरका हजारौ मानिस अहिले क्वारेन्टइनमा रहेको अधिकारीहरुले जनाएका छन् ।
बिहीबार बसेको सत्तारुढ दलको पार्टीको बैठकमा सर्वोच्च नेता उनले विदेशी कुनै पनि सहयोग स्वीकार नगर्ने जानकारी गराएका थिए । उनले सबै सीमा नाका बन्द गरिरहनुपर्नेमा पनि जोड दिएको सरकारी सञ्चार माध्यमले शुक्रबार जनाएको छ ।
उत्तर कोरियाले कोरोनाभाइरस विरुद्ध आक्रामक रुपमा आफैँ लड्ने तयारी भइरहेको पनि जानकारी दिएको छ । साथै हालैका दिनमा बाढीका कारण भत्किएका घर, सडक र पुलहरुको पुनर्निर्माण गर्ने कार्यलाई समेत तीव्रता दिएको उनले बताए ।
उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले मन्त्रिपरिषद्का सदस्यहरुको जिम्मेवारी हेरफेर पनि गरिएको जनाएको छ । सर्वोच्च नेता उनले महत्वकांक्षासहित गत वर्षको डिसेम्बरमा पाँच वर्षे राष्ट्रिय विकास योजना घोषणा गरेका थिए ।
कतिपय विज्ञहरुले भने कोरोनाका कारण उत्तर कोरियामा थप आर्थिक संकटमा पर्नसक्ने विश्लेषण गरेका छन् । बैठकमा नेता किमले तीन हप्तापछि कोरोनाभाइरसको महामारी स्थिर अवस्थामा पुग्ने जानकारी दिए । नेता उनले यसअघि गत जुलाई अन्त्यतिर पनि पूर्ण लकडाउन तथा संकटकालको घोषणा गरेका थिए । त्यसबेला धेरै प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गरिएको थियो ।
प्रकाशित समय १७:०५ बजे

















