गृहपृष्ठ मालीमा सैन्य ‘कु’, राष्ट्रपति र प्रधानमन्त्री सेनाको हिरासतमा
मालीमा सैन्य ‘कु’, राष्ट्रपति र प्रधानमन्त्री सेनाको हिरासतमा
राष्ट्रपति केयटा ।
मालीका राष्ट्रपति इब्राहिम बौबाकर केयटाले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् ।सेनाको नियन्त्रणमा राखिएको भनिएको केही घण्टापछि बुधबार बिहान उनले राजीनामा दिएको सामाचार सार्वजनिक भएको हो ।
उनले मुलुकमा रक्तपात हुन नदिनका लागि आफूले राजीनामा दिएको बताएको विभिन्न विदेशी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । ‘आज सेनाले हस्तक्षेपको आवश्यकता रहेको निर्णय गरेछ, त्यसपछि मैले आफू शक्तिमा रहनका लागि रक्तपातपूर्ण अवस्था रोज्ने कि शक्तिमा नभए पनि शान्ति रोज्ने भन्ने विकल्प आयो, मैले शान्तिपूर्ण बाटो रोजेको छु,’ उनले भनेका छन् ।
उनको वक्तव्यलाई उद्धृत गर्दै राष्ट्रिय टेलिभिजनले केयटाले पद त्यागको घोषणा गर्दै सरकार र संसद् पनि भंग गरेको समाचार प्रसारण गरेको छ । यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेर्रेसले राष्ट्रपति इब्राहिमलाई तत्काल सैन्य नियन्त्रणबाट मुक्त गर्न माग गरेका थिए । विनासर्त तत्कालै उनलाई रिहा गर्न महासचिव गुटेर्रेसको दबाव थियो । उनले राष्ट्रपति सँग-सगै सैन्य नियन्त्रणमा परेका मालीका प्रधानमन्त्री बौबौ किसलाई पनि विनासर्त मुक्त गर्न उनले माग गरेका थिए ।
अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठन र केही देशहरुले पनि मालीमा भएको सैन्य विद्रोहप्रति चिन्ता व्यक्त गर्दै संवैधानिक व्यवस्थाको पुनर्बहालीका लागि आग्रह गरेका छन् । मालीको सेनाले मंगलबार अबेर विद्रोह गरेर उनीहरुलाई नियन्त्रणमा लिएको हो भने राजधानी लगायतका मुख्य-मुख्य ठाउँहरुमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

सैन्य अधिकारीहरुले राष्ट्रपति, प्रधानमन्त्रीसँगै केही मन्त्री र उच्च सरकारी अधिकारीहरुलाई पनि नियन्त्रणमा लिएको जनाइएको छ । लामो समयदेखि सरकारले सेनाका गुनासाहरुलाई सम्बोधन नगरेका कारण सैन्य विद्रोहको अवस्था सिर्जना भएको बताइएको छ । पश्चिम अफ्रिकी देश मालीमा पछिल्लो केही समयदेखि सरकारप्रति चरम असन्तुष्टि व्यक्त गर्दै ठूला ठूला प्रदर्शन निरन्तर भइरहेका थिए ।
धार्मिक अगुवा महमुद डिक्कोको नेतृत्वमा भएका ठूला प्रदर्शनहरूमा राष्ट्रपतिको राजीनामा माग गरिएको थियो । प्रदर्शनकारीहरुले राष्ट्रपति केयटाका कारण देशमा भ्रष्टाचार, अर्थतन्त्रको खराब व्यवस्थापन, सुरक्षा अवस्था र बढ्दो जातीय हिंसा बढीरहेको आरोप पनि लगाएका छन् । केयटा दोस्रो कार्यकालका लागि सन् २०१८ मा चुनावबाट मालीको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । (रासस)
प्रकाशित समय १६:५८ बजे

















