गृहपृष्ठ प्रेस काउन्सिलका कावा अध्यक्ष नहटाउन सर्वोच्चको आदेश
प्रेस काउन्सिलका कावा अध्यक्ष नहटाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाएर दुर्गा भण्डारी (पौडेल)लाई नियुक्त गर्ने सरकारको निर्णयमा तत्कालका लागि रोक लगाएको छ ।
सरकारले साउन ३० गते भण्डारीलाई सदस्यमा मनोनयन गरेर भदौ १ गतेको मन्त्रिपरिषद्बाट कार्यकारी अध्यक्ष तोकिएको थियो । यसका विरुद्ध प्रेस काउन्सिल बोर्डले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा अदालतले अन्तरिम आदेश जारी गरेर यो निर्णय कार्यान्वयनमा रोकेको हो ।
सर्वोच्चका न्यायाधीस ईश्वरप्रसाद खतिवडाको एकल इजालासले काउन्सिलका अध्यक्षका सन्दर्भमा परेको मुद्दासमेत विचाराधीन रहेको सन्दर्भमा प्रेस काउन्सिल ऐनका व्यवस्थाविपरीत नियुक्ति भएको भन्दै भण्डारीको नियुक्ति तत्काल कार्यान्वन नगर्न भनेको हो ।
यसअघि प्रेस काउन्सिलका तत्कालीन अध्यक्ष भवानी बराललाई नियुक्त गरिएकोमा उनको योग्यता नपुगेको विषयमा सर्वोच्चमा परेको रिटमा अदालतले उनलाई काम नगर्न आदेश दिएको थियो । जुन मुद्दाको अन्तिम किनारा लाग्न बाँकी छ ।
प्रकाशित समय १७:४२ बजे