गृहपृष्ठ क्यानाडामा विद्यालय पुनः खोल्ने तयारी, प्रधानमन्त्री ट्रूडोद्वारा सहयोग कोष घोषणा
क्यानाडामा विद्यालय पुनः खोल्ने तयारी, प्रधानमन्त्री ट्रूडोद्वारा सहयोग कोष घोषणा

क्यानेडाली प्रधानमन्त्री जस्टिन ट्रूडोले महामारीका कारण बन्द भएका विद्यालयहरू खोल्न सहयोग पुर्याउन झण्डै एक खर्ब ५२ अर्ब अमेरिकी डलर बराबरको नयाँ कोषको घोषणा गरेका छन् । उक्त रकम आवश्यकता अनुसार प्रान्त र क्षेत्रीय सरकारलाई विद्यालयलाई सुरक्षितरूपमा पुनः सञ्चालनमा ल्याउनका लागि उपलब्ध गराउने क्यानडाको प्रधानमन्त्रीको कार्यालयले बिहीबार जानकारी गराएको छ ।
महामारीका कारण बन्द अवस्थामा रहेका विद्यालयहरू खोल्न दुई हप्ता भन्दा कम समय बाँकी रहेका वेला प्रधानमन्त्री ट्रुडोले उक्त कोषको घोषणा गरेका हुन् । क्यानडाका कतिपय प्रान्त तथा स्थानीय निकायले कोभिड–१९ संक्रमितको संख्या बढिरहेको विवरणहरू सार्वजनिक गरिरहेका समये विद्यालय पुनः सञ्चालनको लागि स्वास्थ्य सुरक्षा सहयोग कोष स्थापना भएको हो ।
एक महिना पहिले नै अर्थतन्त्र र स्वास्थ्य सेवा प्रणालीका लागि भन्दै प्रान्त र क्षेत्रहरूलाई १९ अर्ब क्यानाडेली डलर सहयोग घोषणाको व्यवस्था गर्ने आश्वासन दिएका थिए । पछिल्लो कोष प्रान्त र क्षेत्रहरूलाई स्थानीय विद्यालयमा जाँदा विद्यार्थी र कर्मचारीहरूलाई कोभिड–१९ को महामारीबाट सुरक्षित राख्न अपनाउनुपर्ने उपायहरूको व्यवस्था गर्न गरिएको हो । जसअन्तर्गत विद्यालयहरूमा सिकाइका लागि अतिरिक्त स्थान, स्वच्छ हावा, हात सफा गर्ने साबुन तथा सफाईका अन्य सामान र व्यक्तिगत सुरक्षाका सामानहरू मास्क, स्यानिटाइजरलगायतको व्यवस्था गरिनेछ ।
‘बालबालिकालाई सुरक्षित रूपमा विद्यालय फर्काउनु अर्थ व्यवस्थालाई पुनः सुरु गर्न महत्वपूर्ण छ । यसले अभिभावकलाई आफ्ना बच्चाहरूको स्वास्थ्यको बारेमा कुनै चिन्ता नगरी विद्यालय फर्किन सघाउने विश्वास मैले लिएको छु । हाम्रा बच्चाहरू कक्षा कोठामा सुरक्षित हुनुपर्दछ । यो वेवास्ताा गर्न नहुने विषय हो,’ प्रधानमन्त्री ट्रुडोले भने ।
ट्रूडो सरकारले आदिवासी समुदाय रहेका विद्यालयहरूमा ११ करोड क्यानडेली डलर लगानी गर्ने यस पहिले नै घोषणा गरेका छन् । क्यानडामा गत मार्चको मध्यदेखि विद्यालय र व्यवसाय बन्द भएपछि विद्यार्थीहरूले घरबाटै अनलाइन कक्षाहरू लिँदै आएका छन् । (एजेन्सी)
प्रकाशित समय ०७:१० बजे