गृहपृष्ठ हाम्रो उद्देश्य अफगानिस्तानमाथि हुने विदेशी अतिक्रमण अन्त्य गर्नु हो : तालिबान

हाम्रो उद्देश्य अफगानिस्तानमाथि हुने विदेशी अतिक्रमण अन्त्य गर्नु हो : तालिबान

अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले मुलुकमा युद्ध हुनुको मुख्य कारणबारे छलफल नभई युद्धबिराम गर्न नसकिने बताएको छ । तालिबान समूहका प्रवक्ता मोहम्मद नईमले प्रारम्भिक चरणको वार्ता सुरु भएलत्तै तालिबान समूहले हिंसात्मक कारबाहीमा कमी ल्याएको दाबी गरे । उनले तर सरकारी फौजले आक्रामक कारबाही जारी राखेकामा दुःख व्यक्त गरे ।

‘बीस वर्षदेखिको युद्ध एक घण्टामै अन्त्य हुन सक्दैन भन्नेमा सबै विश्वस्त हुन आवश्यक छ । हाम्रो दृष्टिकोणमा वर्तमान समस्या र युद्धका मुख्य पक्षहरुका बारेमा छलफल गरिनु सान्दर्भिक हुन्छ ताकि यो समस्यालाई स्थायी रुपमै समाधान गर्न सकिन्छ,’ प्रवक्ता नईमले भने । तालिबानको मुख्य चाहना नै अफगानिस्तानलाई इस्लामिक राष्ट्र बनाउनु रहेकाे र यसका बारेमा आमजनता र मुलुक नै दृढ रहेकाे उनले बताए । ‘मानिलिउँ, आजै हामीले युद्धबिराम घोषणा गर्यौं, तर भोलि हामी सहमतिमा पुगेनौं भने त्यसको जिम्मेवारी कसले लिन्छ ? के हामीले फेरि युद्ध शुरु गर्नु ? यसको अर्थ के हो ?’ प्रवक्ता नईमले भने, ‘हाम्रो अर्को उद्देश्य अफगानिस्तानमाथिको विदेशी अतिक्रमण अन्त्य गर्नु हो ।’

उनले वार्तामा उतारचढाब भए पनि अफगान र तालिबान प्रतिनिधिमण्डल बीचको वार्ता सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे । उनले आफूहरु बलियो इच्छाशक्ति र प्रतिबद्धताका साथ शान्ति प्रक्रियामा प्रवेश गरेको बताउँदै विभिन्न जटिलताका बाबजूद यो प्रक्रिया सहज रुपमा अघि बढ्ने बताए ।

अफगान सरकार र तालिबानबीच कतारको दोहामा वार्ता हुन थालेको पाँच दिन पुगिसकेको छ । यो अफगान सरकार र तालिबानबीचको पहिलो औपचारिक वार्ता हो । औपचारिक सम्झौताका लागि दुवै पक्षबीच कार्यविधि र विधिका बारेमा सहमति जुट्न सकेको छैन ।

प्रकाशित समय १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु