गृहपृष्ठ मानव पुँजी विकासमा भारतभन्दा नेपाल अगाडि

मानव पुँजी विकासमा भारतभन्दा नेपाल अगाडि

मानव पुँजी विकासमा भारतभन्दा नेपाल अगाडि रहेको पाइएको छ । विश्व बैंकले गरेको पछिल्लो अध्ययनले मानव पुँजी विकासमा नेपाल भारतभन्दा ७ स्थान अर्थात् नेपाल १०९औँ स्थानमा रहेको देखाएको हो । विश्व बैंकको मानव पुँजी सूचकांक २०२० अनुसार १७८ देशको अध्ययनमा भारत ११६औं स्थानमा छ ।

मानव पुँजी सूचकमा नेपालले थप उपलब्धि हासिल गरेको छ । विगत वर्षमा ०.४९ स्कोर रहेको नेपालको सन् २०२० मा ०.५० स्कोर पुगेको छ । भारतको स्कोर भने ०.४४ बाट ०.४९ पुगेको छ ।

अध्ययनअनुसार नेपाल मध्यम मानव पुँजी विकास भएको देशमा पर्छ । विश्वमा सबैभन्दा बढी मानव पुँजी विकास भएको देश सिंगापुर रहेको अध्ययनले देखाएको छ ।

कोभिड १९ ले विश्वभरका १ अर्बभन्दा बढी बालबालिकाको भविष्यमा असर पर्नेछ । कोभिड १९ का कारण विद्यालय जानबाट वञ्चित बालबालिकाको मानव पुँजी क्षमता विकासमा ह्रास आई उनीहरूको आयआर्जनमा पनि गम्भीर प्रभाव पर्ने देखिएको हो । बितेका दशकमा नेपालजस्ता गरिब देशले मानव पुँजी खासगरी ज्ञान, सीप र स्वास्थ्यमा हासिल गरेको उपलब्धिमा पनि ह्रास आएको अध्ययनले देखाएको छ ।

कोभिडका कारण महिला र बालबालिकाको स्वास्थ्य सेवामा अवरोध पुगेको छ भने खोपमा अनियमितता भएको छ । यसले सबैभन्दा बढी प्रभाव गरिब तथा विपन्न परिवारमा परेको विश्व बैंकको अध्ययनमा उल्लेख छ ।

प्रकाशित समय १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु