गृहपृष्ठ अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना, अस्पतालबाटै काम गर्ने योजना
अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना, अस्पतालबाटै काम गर्ने योजना
कोरोनाभाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । ज्वरो आउने लगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनलाई शुक्रबार राती वाल्टर रिड नेसनल सैनिक अस्पताल लगिएको हो । अस्पतालमा उनलाई थेरापी लगायतका उपचारका उपायहरु अपनाइएको छ । उनका विभिन्न औषधि मिश्रित खोप दिइएको चिकित्सकहरुले जनाएका छन् ।
उनको उपचारमा संलग्न डा. कनलीले जारी गरेको विज्ञप्तिका अनुसार सावधानी अपनाउनका लागि रेजेनेरोन पोलीक्लोनल एन्टिबडी मिश्रणको ८ ग्राम’ खुवाएको हो । उक्त औषधि शरीरमा भाइरसको मात्रा घटाउन र छिटो सञ्चो बनाउन दिइएको उनको भनाइ छ ।
राष्ट्रपति कार्यालयबाट अस्पतालतर्फ प्रस्थान गर्ने क्रममा उनी मास्क लगाएको अवस्थामा देखिएका थिए । उनस् राष्ट्रपति कार्यालयबाट अस्पतालसम्म हेलिकोप्टरमा गएका हुन्र । अस्पताल जानुअघि उनले दिएको भिडियो सन्देशमा आफुले आराम नै महसुस गरिरहेको तर थप सुरक्षित र सुनिश्चित हुन अस्पताल जान लागेको बताएका छन् ।
अस्पताल पुगेपछि पहिलो ट्वीट गर्दै शुक्रबार राती उनले लेखेका छन्, ‘मलाई राम्रो भइरहेको छ, सबैलाई धन्यवाद छ । माया छ ।’ अमेरिकामा राष्ट्रपति चयनका लागि निर्वाचन हुन गइरहेका बेलामा उम्मेदवारसमेत रहेक वर्तमान राष्ट्रपति ट्रम्प संक्रमित भएका हुन् । उनले आफू कोरोनाभाइरसबाट संक्रमित भएको शुक्रबार दिउँसो एक बजे सार्वजनिक गरेका थिए ।
उनी बिहीबार मध्याह्न एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि संक्रमित भएकाे बताइएको छ । उनीसँगै उहाँकी पत्नी मेलानिया पनि संक्रमित भएकी हुनं । राष्ट्रपति ट्रम्पले आफ्नी श्रीमतीको पनि अवस्था सामन्य नै रहेको भिडियोमार्फत् जानकारी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले आफू अस्पताल भित्रै रहे पनि काम भने गरिरहने योजना बनाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनले उपराष्ट्रपतिलाई कार्यवाहकको जिम्मेवारी दिएका छैनन् ।
उनी अहिले ७४ वर्षको भएका छन् । यो उमेर समूह कोरोना संक्रमितहरुका लागि अत्यन्त खतरापूर्ण उमेर समूह मानिन्छ ।
विश्वमै सबैभन्दा धेरै मानिसहरु कोरोनाभाइरसबाट संक्रमितहरु रहेको मुलुक अमेरिकामा राष्ट्रप्रमुखलाई नै संक्रमण भएपछि थप त्रास फैलिएको छ । अमेरिकामा अहिलेसम्म दुई लाख पाँच हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ । (रासस)
प्रकाशित समय १४:५४ बजे

















