गृहपृष्ठ मोदी र बाइडेनबीच फोनवार्ता, महामारी नियन्त्रण र सहकार्यका विषयमा छलफल

मोदी र बाइडेनबीच फोनवार्ता, महामारी नियन्त्रण र सहकार्यका विषयमा छलफल

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफू सधैँ खुला र तयार रहेको बताएका थिए ।

बधाई दिन मंगलबार गरेको फोन कुराकानीका क्रममा उनले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा सँगसँगै मिलेर काम गर्न चाहेको बताए । भारत र अमेरिकाबीचको सम्बन्धलाई थप प्रभावकारी, प्रगाढ र राम्रो बनाउनका लागि रणनीतिक साझेदारी र छलफललाई निरन्तरता दिनु पर्नेमा समेत उनले जोड दिएका थिए ।

‘मैले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई टेलिफोन गरेर बधाई दिएको छु । फोनवार्ताका क्रममा सहकार्य गर्ने र आपसी सम्बन्धलाई अझ बलियो बनाउने बारेमा पनि सकारात्मक छलफल भएको छ,’ मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

विगतका सहमति तथा सम्झौता, कोरोनाभाइरसको महामारी, जलवायु परिवर्तन, हिन्द-प्रशान्त क्षेत्र लगायतका बारेमा संक्षेपमा कुराकानी भएको पनि प्रधानमन्त्री मोदीले जानकारी दिएका छन् । उनले उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई पनि न्यानो बधाई भनेका छन् । भारतीय मूलकी अमेरिकी नागरिक ह्यारिस विजयी भएकोमा भारतीयहरुले नागरिकस्तरबाट पनि यसअघि नै खुशियाली व्यक्त गरिरहेका छन् ।

उनी विजयी हुनुले अमेरिका र भारतको सम्बन्ध र सहकार्यलाई थप सहज र सशक्त बनाउने विश्वास पनि प्रधानमन्त्री मोदीले व्यक्त गरेका छन् । (रासस)

प्रकाशित समय १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु