गृहपृष्ठ अस्ट्राजेनिका र अक्सफोर्डको कोभिड‑१९ खोप ७० प्रतिशत सफल

अस्ट्राजेनिका र अक्सफोर्डको कोभिड‑१९ खोप ७० प्रतिशत सफल

बेलायती औषधी निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड‑१९ को खोपले औसतमा ७० प्रतिशतमात्र सफल भएको जनाएको छ । सुरुमा निकै उत्साहजनक नतिजा ल्याएको भन्दै प्रचारप्रसार गरिएको उक्त खोपको तेस्रो चरणको परीक्षणको तथ्यांक विश्लेषण गर्दा यस्तो भेटिएको हो ।

अस्ट्राजेनिका प्रमुख कार्यकारी पास्कल सोरिओटले एक वक्तव्य जारी गर्दै कोभिड–१९ विरुद्धको यस खोप पनि निकै प्रभावकारी तथा सुरक्षित रहेको बताए । अस्ट्राजेनिका खोपको तथ्यांक विश्लेषण गर्दा यो ६२ देखि ९० प्रतिशत सफल रहेको पनि कम्पनीले जनाएको छ ।

अमेरिकी खोप निर्माता कम्पनीहरु फाइजर र मोडर्नाले तयार पारेका खोपहरु ९० प्रतिशतभन्दा बढी सफल रहेका थिए । फाइजर र मोडर्नाका तुलनामा अस्ट्राजेनिकाले तयार पारेको खोपको प्रभाव निकै कम छ ।

अस्ट्राजेनिकाले आफ्ना खोपहरु वितरणका लागि विभिन्न देशका नियामक निकायहरु समक्ष औपचारिक अनुरोध गर्ने जनाएको छ । साथै विश्व स्वास्थ्य संगठन समक्ष पनि न्यून आय भएका मुलुकमा वितरणका लागि आफ्नो खोपलाई सूचीकृत गर्ने तयारी अस्ट्राजेनिकाले गरेको छ ।

कम्पनीले सन् २०२१ भित्रमा करिब तीन अर्ब डोज उत्पादन गर्ने लक्ष्य राखेको छ । यो खोपलाई कम्तीमा छ महिनासम्म दुई देखि आठ डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्न, यताउता लैजान सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित समय १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु