गृहपृष्ठ उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी
उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

उत्तर कोरियाली नेता किम जोङ-अनले चीनमा निर्मित कोरोना विरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताएको हो ।
ह्यारी काजियानियासले लेखेको एक लेखमा उत्तर कोरियाली नेता किम, वरिष्ठ सरकारी अधिकारीहरु र उनका परिवारका सदस्यहरुले एक/दुई साताभित्रै चीनमा निर्माण गरिएको खोप लगाएको बताएका छन् । काजियानियास हाल वासिङ्टनस्थित सेन्टर फर नेसनल इन्ट्रेस्ट संस्थाको कोरिया अध्ययन केन्द्रका वरिष्ठ निर्देशक छन् ।
लेखमा उनले दुई जना अपरिचित जापानी गोप्य स्रोत उल्लेख गरेका छन् । तर चीनमा परीक्षणकै क्रममा रहेका केही खोपमध्ये कुन खोप किम र उनका परिवारका सदस्यले लगाएका हुन् भन्ने खुलाइएको छैन । चीनमा हाल तीनदेखि चार किसिमका खोप परीक्षणका क्रममा रहेका छन् । तीमध्ये एउटा खोप चीनभित्रै करिब १० लाख व्यक्तिलाई लगाइएको छ ।
तर खोपको नतिजा सार्वजनिक नगरिएकाले यसको प्रभावकारिता र सुरक्षाका विषयमा निर्क्यौल हुन सकेको छैन । उत्तर कोरियामा हालसम्म कोरोनाभाइरस संक्रमणका बारेमा केही जानकारी सार्वजनिक गरिएको छैन । तर गत जनवरीदेखि नै उत्तर कोरियाली सीमामा निकै कडाई गरिएको छ । (एजेन्सी)
प्रकाशित समय १३:१५ बजे