गृहपृष्ठ उपचार अभावमा आमा गुमाएपछिको संकल्प : समाजसेवी बाँस्कोटाले गरे ६० लाख बढी सहयोग
उपचार अभावमा आमा गुमाएपछिको संकल्प : समाजसेवी बाँस्कोटाले गरे ६० लाख बढी सहयोग
आर्थिक अभावका कारण सही समयमा उपचार गर्न नसकी आफ्नी आमालाई गुमाएका तेह्रथुमको फेदाप गाउँपालिका- २, ओयाक्जुङका देव बाँस्कोटाले विदेशिने बेलामा धेरै पैसा कमाएर अकालमा ज्यान गुमाउनेहरुलाई सहयोग गर्ने मनमनै प्रतिवद्धता गरेका थिए । सोही प्रतिवद्धताअनुरुप सहयोगी, मिलनसार तथा मेहनेती स्वभावका बाँस्कोटाले आफ्नो तेह्र वर्षे प्रवासी जीवनमा ६० लाख रूपैयाँभन्दा बढी आर्थिक सहयोग गरेर समाजको जिम्मेवार नागरिकका रुपमा आफूलाई प्रस्तुत गरेका छन् ।
गरिबीको चपेटामा परी पैसा कमाउने सपना बोकी तेह्र वर्षअघि साउदी अरबबाट सुरु भएको उनको वैदेशिक रोजगारीको यात्रा अहिले इजरायलमा पुगेको छ । यो अवस्थामा उनले आफ्ना लागि केही दामसँगै नाम पनि कमाइरहेका छन् । समाजसेवा, पत्रकारिता र गीत-संगीतको क्षेत्रमा संघर्षरत बाँस्कोटाको परिचयमात्र होइन, हिजोआज उनको दैनिकी नै फेरिएको छ । विदेश जाने जोकोहीले दाम त अवश्य कमाउँछन् तर उनी भने नामसमेत कमाउन सफल भएका छन् ।
उनले आपत-विपदमा परेका नेपालीहरुलाई विभिन्न समयमा गरी ६० लाख रुपैयाँभन्दा बढीको आर्थिक सहयोग त्यस्तै एक करोड बढीको सहयोग संकलनका लागि संयोजन पनि गरेका छन् । बाँस्कोटाले प्रवासमा रहेर आफ्नो कमाई बचाएर नेपालको विभिन्न स्थानमा समाजसेवा, सहयोग तथा पुरस्कार प्रायोजनमा खर्चिंदै आएका छन् । गरिबीको कारण उपचार गराउन नसकी अकालमै ज्यान गुमाउने अवस्थामा पुगेका बिरामीहरुलाई विषेश सहयोग गर्दै आएका बाँस्कोटाले अहिलेसम्म ६८ जना क्यान्सर तथा मिर्गौलापीडित, खेलकुद, दैवीप्रकोप पीडित मठ-मन्दिरलगायत विभिन्न संघसंस्थालाइ सहयोग गरेका हुन् ।
आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने बाँस्कोटा बताउँछन् । ‘जीवन-मरणको दोसाँधमा रहेका र आर्थिक अभावका कारण उपचार नपाएका पीडितहरुलाई सहयोग गर्नु सच्चा सेवा हो,’ उनी भन्छन्, ‘त्यसैगरी समाजलाई सकारात्मक बाटोतर्फ उन्मुख गराउन लाग्ने समूह, संस्था वा व्यक्तिहरुलाई सहयोग गर्नु पनि परिणाममुखी हुन्छ ।’ बाँस्कोटाले गीतसंगीतको क्षेत्रमा पनि छुट्टै पहिचान बनाइरहेका छन् । उनले ‘कस्तो रहेछ जुनी’, ‘तेह्रथुम सिंहबाहिनी’, ‘काँडेतारको जाली’, ‘पिपल छेउमा वर’, ‘पोहोरको चोली’लगायत पाँच एल्बम सार्वजनिक गरिसकेका छन् ।
प्रकाशित समय १३:४७ बजे

















