गृहपृष्ठ भारतमा किसान आन्दोलन चर्कियो, ‘भारत बन्द’को घोषणा

भारतमा किसान आन्दोलन चर्कियो, ‘भारत बन्द’को घोषणा

भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना मागहरु पुरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरी बन्दको आह्वान गरिएको उनीहरुले बताएका छन् ।

किसानहरुका नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत् भारत बन्दको आह्वान गरिएको जानकारी दिए । आफ्ना मागहरु पुरा गर्नका लागि शनिबारको वार्तामा पनि सरकारले पर्याप्त लचकता नदेखाएमा देशभरी बन्द गराइने उनले बताए ।

कृषिसम्बन्धी नयाँ कानुनहरुप्रति असन्तुष्टि जनाउदै भारतमा केही समयदेखि किसानहरु देशव्यापी आन्दोलनरत छन् । हाम्रो बैठकले आफ्ना मागहरु पुरा गर्न सरकारलाई दबाब दिनका लागि यही डिसेम्बर ८ का दिन भारत बन्दको आह्वान गर्ने निर्णय गरेको छ, अर्का किसान नेता हर्भिन्डर सिंह लख्वाले भने ।

हालै ल्याइएका कृषिसम्बन्धी कानुनहरु रद्ध नगरिएमा देशव्यापी बन्दअन्तर्गत सबै सडकहरुमा अवरोध गरिने उनले बताए । सरकारले ल्याएको कानुन लागू भएपछि किसानहरु थप मर्कामा पर्ने, कृषिजन्य उत्पादनले पर्याप्त मुल्य नपाउने दाबी आन्दोलनरत किसानहरुको रहेको छ ।

केही महिनाअगाडि नै पारित भएको कानुनप्रति किसानहरुले त्यतिबेला देखि नै असन्तुष्टि जनाउदै आए पनि आन्दोलन भने केही समय अगाडिदेखि मात्रै सुरु भएको हो । अहिले केन्द्रीय राजधानी नयाँदिल्लीलाई समेत प्रभावित पार्नेगरी आन्दोलन सुरु भएकाले केन्द्रीय सरकार अहिले दबाबमा परेको छ ।

आन्दोलन चर्किदै गएपछि सरकारले किसानहरुसँग पटक-पटक वार्ता पनि गरेको छ । तर वार्ता परिणाममुखी हुन सकेको छैन ।

प्रकाशित समय १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु