गृहपृष्ठ भारतका सबैभन्दा चर्चित यौन विज्ञ डा. वात्साको निधन
भारतका सबैभन्दा चर्चित यौन विज्ञ डा. वात्साको निधन
समाचारपत्रमा छापिएका स्तम्भका कारण भारतका सहरी क्षेत्रमा चर्चित बनेका एक जना यौन विज्ञको ९६ वर्षको उमेरमा निधन भएको छ । डा. महिन्दर वात्सा एक दक्ष प्रसूति तथा स्त्रीरोग विशेषज्ञ थिए र उनले एक दशकभन्दा लामो समयसम्म आफ्नो प्रसिद्ध स्तम्भ ‘आस्क द सेक्सपर्ट’ लेखेका थिए ।
उनी हजारौँ भारतीयहरूका यौनबारेका प्रश्नहरूको जवाफमा रसिक र स्पष्ट खालका सुझाव दिने गर्थे । उनका परिवारले जारी गरेको विज्ञप्तिमा डा. वात्साले आफ्नै सर्तमा सम्मानजनक जीवन बाँचेको उल्लेख गरेका थिए । ८० वर्षको उमेरमा उनले यौनबारे परामर्श दिने आफ्नो लोकप्रिय स्तम्भ मुम्बई मिरर अखबारमा प्रकाशन गर्न थालेका थिए ।
भारतको अधिकांश घरमा अझै यौनबारेको छलफल वर्जित हुँदा उनको स्तम्भप्रति ह्वात्तै चासो बढेको थियो भने त्यसप्रति विरोध पनि भएको थियो । उक्त अखबारका सम्पादक मिनल बागेल भन्छिन्, ‘हामीले उक्त स्तम्भ नछाप्दासम्म, भारतीय सञ्चारमाध्यमले एकाध पटक मात्रै पुरुष र महिलाका यौनाङ्गहरूको नाम बुझाउने शब्दहरू लेखेका थिए ।’
छाडापनको आरोपसहित मुद्दा र घृणायुक्त भएका पत्रहरूको सामना गर्नुपरेको बताउने उनले उक्त स्तम्भका कारण अखबारले पाएको दु:खभन्दा त्यसले पुर्याएको लाभ धेरै रहेको बताइन् । ‘मिररमा मात्रै उनले २० हजार पाठकका प्रश्नहरूको जवाफ दिएका थिए । यौन परामर्शदाताका रूपमा त्यो सङ्ख्या ४० हजारभन्दा बढी थियो। यसमा उनको कारणले आफ्नो जीवनमा नजिकबाट परिवर्तनको अनुभव गरेका मानिसको सङ्ख्या समावेश गरिएको छैन ।’
डा. वात्सालाई सबैभन्दा पहिला सन् १९६० को दशकमा एउटा महिलासम्बन्धी म्यागजीनमा स्वास्थ्यसम्बन्धी स्तम्भ लेख्नका लागि भनिएको थियो । त्यस बेला उनको उमेर ४० वर्ष पुग्न लागेको थियो । ‘मसँग खासै अनुभव थिएन, त्यो मैले स्वीकार्नुपर्छ,’ सन् २०१४ मा एक अन्तर्वार्तामा उनले भनेका थिए । उनले तत्कालै आफ्ना पाठकहरूले सोधेका अधिकांश प्रश्नहरू यौन शिक्षाका अभावका कारण उब्जिएको बुझे । (बीबीसीबाट)
प्रकाशित समय १९:०६ बजे

















