गृहपृष्ठ सन् २०२१ मा २० लाख यमनी बालबालिका भोकमरीमा पर्ने

सन् २०२१ मा २० लाख यमनी बालबालिका भोकमरीमा पर्ने

द्वन्द्वग्रस्त मुलुक यमनमा सन् २०२१ मा २० लाखभन्दा बढी बालबालिका भोकमरीमा पर्ने देखिएको छ । संयुक्त राष्ट्रसंघीय विभिन्न निकायले शुक्रबार सार्वजनिक गरेका विवरणअनुसार उनीहरु पाँच वर्षभन्दा कम उमेरका बालबालिकामात्रै हुन् ।

लामो समयदेखिको द्वन्द्वका कारण अतिगरिब मुलुकमा पर्न गएको यमनमा द्वन्द्व र गरिबीका कारण बालबालिकाले भोकमरीको सामना गर्नुपर्ने अवस्था आएको जनाइएको छ । यो वर्ष भोकमरी तथा कुपोषणमा पर्ने २० लाखमध्ये झन्डै चार लाख बालबालिकामा कुपोषणका कारण मृत्युको जोखिम देखिएको पनि राष्ट्रसंघीय निकायले उल्लेख गरेको छ ।

भोकमरीमा पर्ने र मृत्यु हुनेको संख्या अघिल्लो वर्षकोभन्दा धेरै हुने अनुमान गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । भोकमरीबाट प्रभावितहरूको संख्या बढेपछि उनीहरूका लागि सहयोगको पनि अभाव हुने आशंका गरिएको छ । यसले यमनमा मानवीय सहायतसम्बन्धी सहयोगमा पनि असर पर्ने अधिकारीहरूले जनाएका छन् ।

राष्ट्रसंघीय अधिकारीहरुले १२ लाखभन्दा बढी गर्भवती तथा सुत्केरी महिलालाई पनि कुपोषणको खतरा रहेको बताएका छन् । ‘अहिले देखिएको तथ्यांकले यमनमा मानवीय सहायताको अभाव अझ बढी हुनसक्ने देखिएको छ, हरेक बालबालिकाले बाच्न र कुपोषणमुक्त हुनका लागि संघर्ष गर्नुपर्ने भएको छ,’ विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बेस्लीले भने । उनले सार्वजनिक गरेको तथ्य तथा विवरण खाद्य तथा कृषि संगठन, युनिसेफ र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा तयार परेका हुन् ।

प्रकाशित समय ०६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु