गृहपृष्ठ के आप्रवासी विरोधी नारा सन् १९३० को प्रतिध्वनि हो ?

के आप्रवासी विरोधी नारा सन् १९३० को प्रतिध्वनि हो ?

युरोप र अमेरिकामा आप्रवासका विषयमा कट्टरपन्थी नाराले राष्ट्रवादको पुनःउदयलाई बल दिन्छ र केही टिप्पणीकारले वर्तमान युगलाई सन् १९३० तिरको समयसँग तुलना गर्न थालेका छन् । के यसो गर्नु उचित हुन्छ ?

आन्ध्र महासागरको दुबैतिर रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि इटालीका उप–प्रधानमन्त्री माटियो सालभिनी, हङ्गेरीका प्रधानमन्त्री भिक्टर अर्बन, बेल्जियमका राजनीतिज्ञ थियो फ्र्यांकिनसम्मका राजनीतिज्ञले आफ्ना सार्वजनिक भाषणमा गैरकानुनी आप्रवासीलाई पटकपटक दानवीकरण गरेका छन् ।

आफ्नो मुलुकमा यी आप्रवासी ‘बाढीकै रूपमा फैलिन चाहेको’ चेतावनी राष्ट्रपति ट्रम्पले दिएका छन् । ‘आफ्नो मुलुकको ढोका अफ्रिकाले लात्ती हानेर ढाल्न चाहेको’ प्रधानमन्त्री अर्बनले बताएका छन् भने रोमा समुदायको जनगणना हुनुपर्ने माग उप–प्रधानमन्त्री सालभिनीले गरेका छन् । विगतमा यहुदीलाई लक्ष्य बनाएजस्तै काम यस समुदायले गरिरहेको आरोप उसका विरोधीले लगाएका छन् ।

यस भाषाले नाजी तथा फासिस्टका घृणापूर्ण भनाइको सम्झना गराउँछ भनी केही आलोचकले बताएका छन् । यी दुबै समूह दुई विश्वयुद्धकाबीच सत्तामा आएका हुन् र उनीहरूले आफ्नो मुलुकलाई शुद्ध बनाई रक्षा गर्ने बचन दिएका थिए ।

‘आप्रवासप्रति ट्रम्पको कट्टरपन्थी दृष्टिकोण सन् १९३० को दृष्टिकोण जस्तै छ’ द वासिङटन पोस्टमा हालैको एक लेखमा यस्तै शीर्षक थियो भने ‘ट्रम्पबाट अभिप्रेरित भएर विश्व सन् १९३० तिर फर्कनसक्छ’ भनी गार्जियनले लेखेको छ । जर्मन पत्रिका स्टर्नले हालै आफ्नो बाहिरी पृष्ठमा अमेरिकी राष्ट्रपति ट्रम्पले नाजीले जस्तै सलाम गरिरहेको चित्र छापेको थियो ।

विषाणु (भाइरस) जस्तै

‘हाम्रो परिस्थिति सन् १९३० तिरको भन्दा निकै फरक छ भन्ने मेरो सोचाइ हो । तर यो नै तर्क होइन’ अक्सफोर्ड विश्वविद्यालयमा आधुनिक इतिहास पढाउने सह–प्राध्यापक जेम्स म्याकडुगलले एएफपीलाई भने ।

‘फासिवाद एउटा विषाणुजस्तै हो । यो नयाँ वातावरणमा रूपान्तर भई अनुकूल हुन्छ’ उनले भने, ‘यी समान परिवार जस्तै हुन् जसले उनीहरूले आफू को हौं भन्ने बताउँछन् । उनीहरू सबै स्थानीय वंशवादी राष्ट्रियतावादी, यहुदीवादी विरोधी जस्ता परिचित हुन् जसमा हाल मुस्लिमप्रति भय र घृणा, विदेशीप्रति वितृष्णा, बौद्धिकताप्रति विरोध, सर्वदेशीयताप्रति विरोध जोडिएका छन् ।’

उनीहरूको अन्य गुणमा ‘धनीतन्त्रको विरोधमा समान्य जनताको पक्षमा बोल्ने बहाना गर्ने तर वास्तवमा धनी, बलिया, सैन्यवादी, तागतदार नेताको छवि भएकाको अभिरुचि पूरा गर्ने जनताको अभिरुचिप्रति समर्पणको माग गर्ने बानी पर्छ’ भनी म्याकडुगलले थपे ।

आप्रवासीलाई कसरी हेर्ने भनी युरोपका सरकारमा रहेका परम्परावादी दक्षिणपन्थी दलहरूले कट्टर दक्षिणपन्थी दलको भाषा बोल्न थालेको कुरा सबैभन्दा चिन्ताको विषय भएको उनले बताए । ‘मूलप्रवाहमा रहेका दक्षिणपन्थीले फासीवादी प्रवृत्तिलाई सामान्यीकरण गरी समायोजन गर्ने काम गर्नु प्रजातन्त्रका लागि सबैभन्दा ठूलो खतरा भएको’ उनले बताए । अन्य इतिहासविद् यस्तो तुलना बढाइचढाइको भाषा भएको धारणा व्यक्त गर्छन् ।

न्यून गम्भीरता

‘ए हिस्टोरी अफ नेसन्स एन्ड नेसन्यालिजम इन युरोप’ (युरोपमा राष्ट्र तथा राष्ट्रियतावादको इतिहास) नामक पुस्तकका लेखक फ्रान्सेली नागरिक गाइ हर्मिट पहिलो विश्वयुद्धपछि नाजीवाद र फासीवाद भएझैं कट्टर दक्षिणपन्थी दल ‘विश्वयुद्धका उत्पादन’ नभएको बताउँछन् । उनले हाल देखा परेको राष्ट्रियतावादलाई तुलना गर्न सकिने आफूले विश्वास नगरेको बताए । ‘आफू बाँचिरहेको अवस्था खराब हुँदैगएको देखेर जनता त्रस्त छन् । यो निकै कम गम्भीर विषय हो’ उनले भने ।

सन् २०१४–२०१५ मा लाखौँ व्यक्ति युरोप आउन थालेदेखि आप्रवासीलाई ब्याख्या गर्ने शब्दको विस्तार भएको भनी फ्रान्सको पूर्वीभागमा स्थापित ‘लियो टु’ विश्वविद्यालयमा राजनीतिक भाषामा विशेषज्ञता हासिल गरेका प्रान्सेली विद्वान सारा अल–मतारीले बताए । बाहिरबाट आएकालाई या त जनावरसँग या रोगसँग तुलना गर्ने ऐतिहासिक दुई प्रवृत्ति छन् ।

उन्नाइसौं शताब्दीमा राज्य तथा उसका समाजलाई जीवित अङ्ग जस्तै ठान्ने धारणाले जरा गाडेको समयमा पछिल्लो प्रवृत्तिको विकास भएको हो । ‘जब तपाईं समाज जीवित प्राणी भएको भनी सोच्न थाल्नुहुन्छ, तब यो मर्नसक्छ र तपाईं बाह्य तत्वसँग डराउन थाल्नुहुन्छ । यसै कारण तपाई आक्रमण वा संक्रमणको भाषा देख्न थाल्नुहुन्छ’, एएफपीसँग एक अन्तर्वार्तामा उनले भने ।

(फ्यावियन जमोरा, रासस/एएफपी)

प्रकाशित समय १६:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु