गृहपृष्ठ अफगानिस्तानमा सर्वसाधारण मारिने क्रम झन् बढ्यो
अफगानिस्तानमा सर्वसाधारण मारिने क्रम झन् बढ्यो
अफगानिस्तानमा भइरहेको द्वन्द्वमा परी मारिने सर्वसाधारणको संख्या अघिल्लो वर्षको तुलनामा अहिले वृद्धि भएको छ । यो वर्षको गत छ महिनाको तथ्यांक हेर्दा लडाकुहरुको आक्रमण र आत्मघाती बम हमलामा परी मृत्यु हुनेहरुको संख्या बढेको देखिएको हो ।
संयुक्त राष्ट्रसंघीय निकायले आइतबार सार्वजनिक गरेको एक तथ्यांक अनुसार सर्वसाधारण मारिने क्रम एक प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भन्दा यस वर्ष घाइते हुनेहरुको संख्या भने पाँच प्रतिशतले वृद्धि भएको अफगानिस्तानमा रहेको राष्ट्रसंघीय मिसनले जनाएको छ ।
गत छ महिनामा तीन हजार ४ सय ३० जना सर्वसाधारण युद्धमा परी घाइते भएको मिसनले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । द्वन्द्वरत दुवै पक्षले यो अवधिमा केही दिन अभूतपूर्व युद्धविराम गरेको भए पनि तथ्यांकमा भने मारिनेको संख्या वृद्धि भएको देखिएको हो ।
अफगानिस्तानी सुरक्षा निकाय र तालिबान लडाकुहरुले गत महिना इदको अवसर पारेर युद्धविरामको घोषणा गरेका थिए । दुवै पक्षबाट युद्धविराम भएपछि १७ वर्षदेखिको द्वन्द्व अन्त्य हुने अपेक्षा गरिए पनि शान्तिको पक्षमा थप सकारात्मक लक्षणहरु देखिएका छैनन् ।
(रासस/एएफपी)
प्रकाशित समय २०:३० बजे

















