गृहपृष्ठ अमेरिकी व्यवहारको उत्तर कोरियाद्वारा आलोचना

अमेरिकी व्यवहारको उत्तर कोरियाद्वारा आलोचना

kim-jong-un-newskarobar

अमेरिकाले आणविक हतियारको निशस्त्रीकरणका सम्बन्धमा देखाएको ‘दबावजन्य’ अधैर्य व्यवहारको उत्तर कोरियाले शनिबार आलोचना गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाविरुद्ध पूर्ण आर्थिक नाकाबन्दीका लागि दबाव कायम राख्नुपर्ने भनेपछि उत्तर कोरियाको उक्त भनाई आएको हो ।

सिङ्गापुरमा जारी सुरक्षा मञ्चमा संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा प्योङयाङले आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई जारी राखेको र जहाजबाट जहाजमा तेलको आपूर्ति गरी प्रतिबन्धलाई छल्न खोजेको आरोपबारे विवादास्पद भनाई आएपछि प्योङयाङको यस्तो प्रतिक्रिया आएको हो ।

गत जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ऐतिहासिक वार्तापछि उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपलाई आणविक रूपले निःशस्त्रीकरण गर्ने जटिल सम्झौता पालना गर्ने प्रतिबद्धता जनाएका थिए । अमेरिकाले राख्दै आएको पूर्ण, प्रमाणित हुने र फिर्ता नहुने गरी निशस्त्रीकरणको मागप्रति उत्तर कोरिया एक्कासी सकारात्मक बनेको थियो ।

सम्झौतापछि अमेरिकी अधिकारीहरूले सार्वजनिक वृत्तमै प्योङयाङ सम्झौताप्रति आवश्यक तयारीमा लागेको आशावादी विचारहरू प्रकट गर्न थालिसकेका थिए । तर केही राष्ट्रसंघका सदस्यहरूले नाकाबन्दीलाई लचिलो बनाएको र यसबाट उत्तर कोरियालाई निशस्त्रीकरणका लागि आवश्यक दबाव नपर्ने भन्दै वासिङ्टनले चासो व्यक्त गरेको थियो ।

दक्षिणपूर्वी एसियाली मुलुकहरूको संगठन (आसियन)को क्षेत्रीय मञ्चमा उत्तर कोरियाली विदेशमन्त्री रि योङ होले निशस्त्रीकरण योजनामा अमेरिकाको अधैर्य व्यवहार देखिएको बताएका हुन् । विदेशमन्त्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, आफ्ना नेताहरूको सोचबाट टाढा रहेका विषयलाई अमेरिकी पक्षबाट शंका गर्नु र आग्रहपूर्ण व्यवहारहरू आउनु दुर्भाग्यपूर्ण भएको छ । यो रोकिनु जरुरी छ ।

जुनमा भएको सम्झौतापछि प्योङयाङले आणविक तथा क्षेप्यास्त्र परीक्षणलाई रोकेको र आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्नेजस्ता ‘हार्दिकताका उपायहरू’ अवलम्बन गरेको उनको भनाइ थियो ।

तर अमेरिकाले यसप्रति सकारात्मक प्रतिक्रिया दिनुको सट्टा उत्तर कोरियाविरुद्धको प्रतिबन्ध कडा पार्नुपर्ने आवाजलाई बुलन्द पार्न थालेको छ ।

‘जबसम्म अमेरिकाले हाम्रा चासोका विषयलाई हटाउन इच्छा देखाउन्न, हामी एकपक्षीय तरीकाले अघि बढ्नुको अर्थ छैन,’ रीले भने ।

यस भन्दा पहिले सोही मञ्चमा अमेरिकी विदेशमन्त्री पोम्पेओले आफूहरूले उत्तर कोरियाविरुद्धको कूटनीतिक तथा आर्थिक दबावलाई कायम राख्नु महत्वपूर्ण भएको बताएका थिए । यद्यपि पोम्पेओले उत्तर कोरियाली निशस्त्रीकरणका सम्बन्धमा हुने प्रगतिमा आफू आशावादी रहेको पनि बताए ।

शनिबारको बैठकमा अमेरिकी प्रतिनिधी मण्डलले नेता किमलाई ट्रम्पले पठाएको चिठी विदेशमन्त्री रीलाई हस्तान्तरण गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

सम्मेलनका समय अमेरिकी विदेशमन्त्री पोम्पेओले रुसप्रति संकेत गर्दै प्रतिबन्धलाई तोड्दै उत्तर कोरियाली श्रमिकलाई मस्कोले काममा लगाएको बताए । पोम्पेओले अन्य मुलुकका विदेशमन्त्रीसँगको भेटमा जहाजबाट ओसारिने तेललाई रोक्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित समय २०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु