गृहपृष्ठ केरलामा बाढीको वितण्डा, अहिलेसम्म ३ सय २४ जनाको मृत्यु
केरलामा बाढीको वितण्डा, अहिलेसम्म ३ सय २४ जनाको मृत्यु

भारतको दक्षिणी राज्य केरलामा बाढीका कारण भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ । उक्त बाढीलाई शताब्दीकै खराब भनिएको छ । बाढी आएको क्षेत्रमा उद्धारका लागि सयौं उद्धारकर्मी खटिएका छन् ।
उद्धारकर्ताहरूले स्थानीय बासिन्दालाई जोगाउनका लागि मुसलधारे पानीको सामना गरिरहेका बीबीसीले उल्लेख गरेको छ । केरलामा अहिलेसम्म २ लाख मानिसहरू आफ्नो घर छोडेर शिविरहरूमा बसिरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उक्त राज्यमा देखिएको विपद्को अवस्था हेर्न आफैँ पुगेका छन् ।
केरला सरकारले धेरैजसोको पहिरोले निम्त्याएको भग्नावशेषमा पुरिएर मृत्यु भएको जनाएको छ । धेरै वर्षाको अनुमान गरिएको कारण केरलाको मुख्य विमानस्थल अगष्ट २६ तारिखसम्म बन्द हुन सक्ने अनुमान गरिएको छ । हेलिकोप्टरमार्फत् खासगरी बालबालिका र बृद्धबृद्धालाई उद्धार गरेर सुरक्षित स्थलतर्फ लैजाने क्रम जारी छ ।
एएफपी समाचार संस्थाका अनुसार उद्धार प्रयासमा सघाउन ३ सय भन्दा बढी डुंगाहरू पनि त्यहाँ प्रयोग गरिएका छन् । सरकारले मानिसहरूलाई बाढी प्रभावित क्षेत्रबाट अन्यत्र लैजाँदा दिइएका निर्देशनहरूको बेवास्ता नगर्न आह्वान गरेको छ ।
उद्धार गरेर अन्यत्र सारिएका दशौं हजार मानिसहरूलाई सरकारले खानेकुराहरू वितरण गरिरहेको छ । भारतभर बर्ष सुरु भएयतामात्रै अहिलेसम्म ९ सय ३० जनाको मृत्यु भइसकेको जनाइएको छ ।
प्रकाशित समय ०८:३० बजे