गृहपृष्ठ सुरु हुँदै एसियन गेम्स, पदक संख्या बढाउने नेपालको लक्ष्य

सुरु हुँदै एसियन गेम्स, पदक संख्या बढाउने नेपालको लक्ष्य

नेपालको झण्डा कमलबहादुरलाई

इन्डोनेसियाको राजधानी जकार्तामा शनिबारबाट एसियाली खेलकुद (एसियाड)को १८ औं महोत्सव सुरु हुँदैछ । शनिबार स्थानीय समयअनुसार साँझ ७ बजे सुरु हुने उद्घाटन समारोहका लागि जकार्ताको गेलोरास्थित बङ कामो रंगशाला बेहुलीजस्तै सिँगारिएको छ ।

ट्राफिक जामका लागि विश्वमै ‘बदनाम’ सहर मानिने जकार्तामा एसियाली खेलकुदलाई केन्द्रित गरी ट्राफिक व्यवस्थापन चुस्त पारिएको छ । ट्राफिक जाम कम गर्न प्रतियोगिता अवधिभर जाकार्तामा यात्रुवाहक मिनिबस सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । गत हप्ताबाटै जकार्ता शिक्षा प्रशासनले विद्यालय बन्दको घोषणा गरेको थियो । विद्यालय बन्द र मिनिबस प्रतिबन्ध लगाइएपछि यहाँको ट्राफिक निक्कै खुकुलो भएको बताइएको छ ।

महोत्सवका लागि ४५ देशबाट १२ हजारभन्दा बढी खेलाडी विभिन्न ४७ खेलमा ४ सय ६२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्न इन्डोनेसिया पुगिसकेका छन् । एसियाभरबाट पुगेका खेलाडी, खेलपदाधिकारी, पत्रकार तथा दर्शकलाई उद्घाटन समारोहमा इन्डोनेसियाको कला, संस्कृति र विकास तथा समृद्धि देखाएर मनोरञ्जन प्रदान गर्न १० हजार कलाकार तयार गरिएको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतियोगिताको उद्घाटन गर्नेछन् ।

यसपटक एसियाली खेलकुद इन्डोनेसियाले जाकार्ता र पालेम्बाङ गरी दुई फरक सहरमा गर्नेछ । इन्डोनेसियाले एसियाडको भव्य सफलताका लागि जकार्ता र पालेम्बाडमा गरी कुल १३ हजार स्वयम्सेवक परिचालन गरेको छ । १४ खेलका लागि ३ हजार १ सयको हाराहारीमा खेलाडीलाई आतिथ्य गर्ने पालेम्बाङमा २ हजार तथा बाँकी ४३ खेलका ९ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जकार्तामा ११ हजार स्वयम्सेवक परिचालन हुने कमिटीका उपप्रमुख सिस्वान्तोले एसियाडले जानकारी दिए ।

एसियाली खेलकुदको १८औं महोत्सव इन्डोनेसियाका लागि दोस्रो आयोजना अनुभव हुनेछ । यअसघि इन्डोनेसियाले १९६२ मा पहिलो पटक एसियाली खेलकुदको सबभन्दा ठूलो महोत्सव आयोजना गरेको थियो ।

यसपटक ब्रिज, जेट स्की, जुजित्सु, कुरास, प्याराग्लाइडिङ, पेनाक सिलात, साम्बो, स्केट बोर्डिङ र स्पोर्टस क्लाइम्बिङ खेल पहिलो पटक समावेश गरिएको छ । फुटबल, बास्केटबललगायतका केही खेल अघिल्लो साता नै सुरु भइसकेका छन् ।

नेपालको झन्डा कमलबहादुरलाई
उद्घाटन समारोहको मार्चपासमा नेपालको झन्डा भारोत्तोलनका दक्षिण एसियाली स्वर्ण पदकधारी खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन् । ओलम्पिक काउन्सिल अफ एसियाले शनिबारको उद्घाटन समारोहमा मार्चपासका लागि कम कोटा मात्र दिएको बताइएको छ। कोटा कम मात्र प्राप्त भएकाले नेपालका तर्फबाट मार्चपासमा ८० खेलाडी तथा खेलकर्मीले मात्र सहभागिता जनाउन पाउनेछन् ।

तेक्वान्दो, जुडो, कराते, महिला बक्सिङ, उसु, प्याराग्लाइडिड, स्केट बोर्डिङमा नेपाली खेलाडबाट पदक अपेक्षा गरिएकोछ । २९ खेलमा १ सय ८५ खेलाडी सहभागी गराउने तयारीमा रहेको नेपालका अधिकांश खेलाडी इन्डोनेसिया पुगिसकेका छन् । खेल उद्घाटन समारोहमा सहभागी हुन युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासहित खेलकुद निकायका अधिकारी पनि इन्डोनेसिया पुगेका छन् ।

प्रकाशित समय ०९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु