गृहपृष्ठ डुंगा पल्टिँदा छ बालबालिकाको मृत्यु

डुंगा पल्टिँदा छ बालबालिकाको मृत्यु

नयाँ दिल्ली -दक्षिण भारतमा मंगललबार भएको एक डुंगा दुर्घटनामा परी कम्तीमा पनि छ जना बालबालिकाको मृत्यु भएको समाचार छ ।

यस दुर्घटनामा परी छ बालबालिकाको मृत्यु भएको छ भने, अन्य तीन जनालाई उद्धार गरिएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको स्थानीय सञ्चारले जनाएका छन् ।

मलापुराम जिल्लाको पोननानी कोले इलाका नजिकै रहेको जलक्षेत्रमा मंगलबार उक्त डुंगा दुर्घटना भएको जनाइएको छ ।

सो इलाका केरला प्रान्तको प्रान्तीय राजधानी त्रिवन्त्रमबाट ३५९ किलोमिटर उत्तरमा रहेको जनाइएको छ ।

साँझ नौ जना व्यक्ति लिएर गएको सो डुंगा पल्टिँदा छ बालबालिकाको मृत्यु भएको र अन्य तीन जनालाई उद्धार गरिएको मलापपुरामका प्रहरी अधिकारीले सिन्ह्वा समाचार समितिलाई जनाएका छन् ।

घाइतेलाई अस्पताल भर्ना गरिएको जनाइएको छ । विदा मनाउनको लागि आफन्तको घरमा जान लागेका ती बालबालिका दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा ज्यान गुमाएकामा चारजना बालक र दुई बालिका रहेका जनाइएको छ । स्थानीय सरकारले यस दुर्घटनाको अनुसन्धान सुरु गर्न आदेश दिएको छ ।

भारतमा क्षमताभन्दा बढी व्यक्ति सवार भएर डुंगामा यात्रागर्ने गरिएका कारण बारम्बार यस्ता दुर्घटना हुने गरेको पाइन्छ ।

गत महिना मात्र पनि आन्ध्र प्रदेशमा भएको यस्तै डुंगा दुर्घटनामा परी १९ व्यक्तिको मृत्यु भएको थियो । रासस/सिन्ह्वा

प्रकाशित समय १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु