गृहपृष्ठ खर्च नगरे ५१ अर्ब अनुदान फिर्ता जाने
खर्च नगरे ५१ अर्ब अनुदान फिर्ता जाने
काठमाडौं । आउँदो ५ वर्षभित्र काम सम्पन्न नगरे मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत अमेरिकाले नेपाललाई दिएको ५१ अर्ब ५० करोड रुपैयाँ अनुदान फिर्ता जाने भएको छ ।
अमेरिकाले नेपालमा जलविद्युत प्रसारणलाइन र सडकलगायत अन्य पुर्वाधार निर्माण गर्न एमसीसीमार्फत ५० करोड डलर अनुदान सहयोग गरेको हो । गत भदौको अन्तिमसाता वासिङटन डीसीमा भएको सम्झौतामा ५ वर्षभित्र सबै रकम खर्च गर्नुपर्ने उल्लेख गरिएको छ । ५ वर्षभित्र खर्च नभए सो रकम फिर्ता जाने सम्झौतामा उल्लेख छ ।
एमसीसीमार्फत प्राप्त अनुदान खर्च नगरे गुम्ने खतरा रहेको पुर्व अर्थसचिव शान्तराज सुवेदीले बताए । नेपालमा खर्च गर्ने क्षमता कमजोर भएकाले निर्धारित समयमा अधिकाँश आयोजनाको काम नहुने गरेको जानकारी दिदै उनले भने “५ वर्षभित्र काम सम्पन्न नगरे जुन अवस्थामा छ त्यही अवस्थामा आयोजना छाडेर अमेरिकाले आफुले दिएको अनुदान फिर्ता लैजाने छ ।”
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र एसियाली विकास बैंक (एडीबी) ले मंगलबार राजधानीमा आयोजना गरेको संघीयतामा वित्तीय चुनौति विषयमा सेमिनारमा बोल्दै उनले दाताको सहयोगमा सञ्चालित आयोजनाका प्रगति राम्रो नभएकाले अमेरिकाले सहयोग फिर्ता लैजान सक्ने चेतावनी दिएका छन् ।
नेपालले १३ करोड डलर रकमको योगदान गर्नेछ । यसरी ६३ करोड डलर अर्थात् करिब ६३ अर्ब रुपैयाँ बराबरको यो आयोजना ५ वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको एमसीसीले छ । यसबाट २१३ किलोमिटर विद्युत् प्रसारणलाइनको निर्माण र सडक विस्तारमा खर्च गरिने भएको छ ।
पुर्वाधारमा लगानी गर्नका लागि नेपालमा ४ वर्षअघि नै एमसीसीको कार्यालय स्थापन भई आयोजना छनौटको काम भइरहेको छ । सहयोग विद्युत र यातायात क्षेत्रमा केन्द्रीत हुने एमसीसीले जानकारी दिएको छ ।
प्रकाशित समय ०५:५४ बजे