गृहपृष्ठ माइकल ज्याक्सन जसको मृत्युपश्चातको कमाई नै अर्बौं डलर
माइकल ज्याक्सन जसको मृत्युपश्चातको कमाई नै अर्बौं डलर
स्वर्गीय गायक माइकल ज्याक्सनको नाम नसुन्ने त कमै होलान् । त्यसमाथि आजको विश्वव्यापिकरणको दुनियामा । पप संगीतको क्षेत्रमा त ज्याक्सनको छुट्टै पहिचान छ । डान्स गर्दै गाउने उनको शैलीले धेरैलाई मोहनी लगाएको छ । यो मोहनी उनको मृत्युपश्चात पनि कायमै छ ।

जुन २५ सन् २००९ मा गायक ज्याक्सनको निधन भयो । उनको निधनपश्चात पनि फ्यानहरुको संख्या घटेको छैन । ज्याक्सनको मृत्यु भएको ९ वर्षभन्दा बढी भइसकेको छ । यद्यपी उनका फ्यानले उनीप्रति यतिधेरै आकर्षित छन् कि अझैसम्म उनको कमाई भइरहेको छ ।
प्रसिद्ध म्यागेजिन फोब्र्सका अनुसार ज्याक्सन मृत्युपश्चात सबैभन्दा बढी कमाउँने सेलिब्रेटीमा पहिलो नम्बरमा परेका छन् । फोर्ब्सले मृत्युपश्चात सबैभन्दा बढी कमाउने सेलीब्रेटीको सम्बन्धमा एक रिपोर्ट प्रकाशित गरेको थियो । जसमा उल्लेख गरिएका सेलीब्रेटीहरु निम्न छन् ।
सन् २००९ जुन २५ मा ज्याक्सनको निधन यता उनको नाममा २ दशमलब ४ अर्ब डलर कमाई भएको छ । सन् २०१८ मा मात्र ज्याक्सनको नामबाट ४० करोड डलर कमाई भएको फोर्ब्सले जनाएको छ ।

यो सूचीको दोस्रो नम्बरमा रहेका एल्बिस प्रिस्लेको मृत्यु ४० वर्ष पहिले भएको थियो । यद्यपी प्रतिवर्ष उनका १० लाख एल्बम विक्ने गरेको जनाइएको छ । सोही कारण हुनुपर्छ सन् २०१७ मा चौथो नम्बरमा रहेका प्रिस्ले यस वर्ष दोस्रो नम्बरमा छन् । उनको नामबाट यस वर्ष ४० मिलियन डलर कमाई भएको फोर्ब्सले जनाएको छ ।
यो सूचीको तेस्रो नम्बरमा रहेका गल्फ खेलाडी अर्नाल्ड पामरले सन् २०१८ मा ३५ मिलियन डलर कमाएको फोर्ब्सको रिपोर्टमा उल्लेख छ । सन् २०१६ सेप्टेम्बर २५ मा उनको निधन भएको थियो ।
त्यस्तै सूचीको चौथो नम्बरमा रहेका कार्टुनिस्ट चार्ल्स स्कल्जको नामबाट सन् २०१८ मा ३४ मिलियन डलर कमाएको फोर्ब्सले उल्लेख गरेको छ । यसैगरी सूचीको पाँचौ नम्बरमा रहेको म्युजिसियन बब मार्लेको नामबाट २०१८ मा २३ मिलियन डलर कमाई भएको फोर्ब्सले जनाएको छ ।
सूचीको छैटौं स्थानमा लेखक डा. सिउस, सातौं स्थानमा हग हेफ्नर, आठौं स्थानमा मार्लिन मुनरो, नवौं स्थानमा म्युजिसियन प्रिन्स र दशैं स्थानमा म्युजिसियन जोन लेनन् छन् ।
प्रकाशित समय १४:५५ बजे

















