गृहपृष्ठ खशोग्जी हत्याबारे निष्कर्षमा पुग्न बाँकी छ : अमेरिका
खशोग्जी हत्याबारे निष्कर्षमा पुग्न बाँकी छ : अमेरिका
अमेरिकाले साउदी पत्रकार जमाल खशोग्जीको हत्याबारे निष्कर्षमा पुग्न बाँकी रहेको बताएको छ । अमेरिकी विदेश मन्त्रालयले इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा भएको खशोग्जीको हत्यासँग सम्बन्धित थुप्रै प्रश्न अनुत्तरित नै रहेको बताएको हो । यसअघि अमेरिकी गुप्तचर निकाय सीआईएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार खशोग्जीको हत्या गर्न निर्देशन दिएको दाबी गरेको थियो । साउदीले भने यस्तो दाबीको खण्डन गरेको छ ।
साउदी युवराजको आदेशबिना खशोग्जीको हत्या हुनै नसक्ने कुरामा अमेरिकी अधिकारी पनि विश्वस्त देखिएका छन् । तर, साउदी अरेबियासँगको रणनीतिक सम्बन्ध कायम राख्दै सो विषयमा थप छानबिन गर्ने अमेरिकी अधिकारीहरुले बताएका छन् ।
बीबीसीका अनुसार आगामी मंगलबार प्राप्त हुने प्रतिवेदनको प्रतीक्षामा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सो प्रतिवेदनपछि अमेरिकी अधिकारीहरूलाई पत्रकार खशोग्जीको हत्याका वास्तविक जिम्मेवार पत्ता लाग्ने बताएका छन् ।
साउदी सरकारको प्रखर आलोचक खशोग्जी आफ्नो विवाहका लागि कागजातहरू लिन गएका बेला इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा प्रवेश गरेदेखि बेपत्ता भएका थिए । खशोग्जीको हत्यामा ११ जनामाथि अभियोग लगाइएको छ । तीमध्ये पाँचजनालाई मृत्युदण्डको सजाय हुनुपर्ने माग उठिरहेको छ ।
प्रकाशित समय १०:३९ बजे

















