गृहपृष्ठ स्वतः भंग हुन लागेको नेविसंघ बचाउन कांग्रेसले के गर्दैछ ?
स्वतः भंग हुन लागेको नेविसंघ बचाउन कांग्रेसले के गर्दैछ ?
नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेशनका लागि थप गरिएको समय आज (आइतबार) सकिँदैछ । नियमित दुई वर्षमा महाधिवेशन नभएपछि समय थप गरिएको थियो । तर, थप गरिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि नेविसंघ स्वतः भंग हुन अवस्थामा पुगेको छ । तर, नेताहरुले नेविसंघलाई भंग हुन नदिएर जोगाउने गरी सहमति गर्ने प्रयास गरिरहेका बुझिएको छ । यसका लागि नेविसंघलाई महाधिवेशन गर्न समय थपिदिनेबारे छलफल भइरहेको कांग्रेस नेताहरुले बताएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्य महेन्द्र यादवले नैनसिंह महर नेतृत्वको कार्यसमितिलाई महाधिवेशन गर्ने समय थपिदिन सहमति जुट्नै लागेको बताए । उनका अनुसार ३२ वर्षे उमेरहद लगाएर महाविधेशन गर्ने जिम्मा दिने गरी नेताहरूले सहमति गर्न लागेका हुन् ।
उमेरहदका विषयमा संस्थापन र संस्थापनईतर पक्षबीच मतभेद छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका नेताहरू तदर्थ समिति बन्ने अवस्था आए ३२ वर्ष उमेरहद लगाउनुपर्ने पक्षमा छन् भने संस्थापन पक्षका नेताहरू तदर्थ समिति बनाउँदा ३२ वर्ष उमेरहद नलगाउने पक्षमा छन् ।
आइतबार छलफल
नेविसंघलाई महाधिवेशनका लागि समय दिनेबारे नेताहरुले आइतबार पनि छलफल गर्ने भएका छन् । शनिबार ४ घण्टाभन्दा लामो अनौपचारिक छलफल गरेका नेताहरु कुनै निष्कर्षमा पुग्न सकेनन् । ‘नेविसंघलाई समय दिएर महाधिवेशन गर्नुपर्छ भन्नेमा नेताहरुबीच खासै मतभेद छैन,’ यादवले भने, ‘नमिलेका विषयमा सहमति खोजेर अघि बढ्नुपर्छ ।’
एक नेताका अनुसार आइतबार नेताहरुबीच पुनः छलफल हुँदैछ । ‘सहमतिका लागि छलफल र संवाद आवश्यक हुन्छ,’ ती नेताले भने, ‘हामीसँग समय छैन, त्यसैले आइतबार नै यो विषय टुंग्याउने गरी नेताहरुबीच छलफल हुँदैछ ।’ नेताहरुबीच अनौपचारिक छलफललगत्तै एकैछिनका लागि केन्द्रीय समिति बैठक बस्ने ती नेताले बताए ।
तदर्थ समिति बनाउँदा के हुन्छ ?
तदर्थ समिति बनाएर अघि बढ्दा संस्थापन पक्षलाई बढी फाइदा हुने देखिन्छ । किनकि, तदर्थ समितिको समयसीमा हुँदैन, महाधिवेशन नभए पनि तदर्थ समितिले काम गरिरहन्छ । स्मरणीय छ, यसअघि पनि तदर्थ समितिको इतिहास राम्रो छैन । त्यसैले संस्थापनईतर पक्षका केही नेता तीन महिना थप्न पाउने व्यवस्थालाई बाधा अड्काउ फुकाउबाट ६ महिना बनाउनुपर्ने पक्षमा छन् । यसमा संस्थापन पक्षकै केही युवा नेताले पनि समर्थन जनाएको बुझिएको छ । त्यसो त, संस्थापन पक्षको विपक्षमा उभिँदै आएका नेता रामचन्द्र पौडेल भने तदर्थ समिति बनाएर अघि बढ्नुपर्ने पक्षमा देखिएका छन् । तर, अरू नेताहरूले तदर्थ समिति बनाए पनि संस्थापन पक्ष नै हाबी हुने भन्दै दुईदेखि तीन महिना समय दिने विधि उपयुक्त हुने बताइरहेका छन् ।
प्रकाशित समय १०:२७ बजे
















